
देउखुरी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मतदातासँगको प्रत्यक्ष संवादलाई चुनावी अभियानको मुख्य आधार बनाएका छन्। विकास र चुनावी एजेण्डामा खुला बहस गर्दै उनी दाङका विभिन्न टोलमा मतदाताको घर–घर पुगेका हुन्।

घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आज आयोजित भेटघाट कार्यक्रममा पोखरेलले आफ्नो राजनीतिक यात्राभन्दा पनि लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा अघि बढाइएका विकास योजनाको कार्यान्वयनलाई केन्द्रमा राखेर मतदातासँग संवाद गरेका थिए। उनले दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार पारिएको र त्यसको निरन्तरताका लागि आफू पुनः निर्वाचनमा होमिएको बताए।
‘विकास योजना कागजमै सीमित हुने होइन, त्यसलाई कार्यान्वयन गर्न सक्षम र जिम्मेवार नेतृत्व आवश्यक छ,’ पोखरेलले भने, ‘योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ।’ आफू ‘कुराभन्दा काम गर्ने’ नेतृत्वका रूपमा परिचित भइसकेको उल्लेख गर्दै उनले अधुरा योजनाहरू पूरा गर्न पुनः जनमत आवश्यक रहेको बताए। उनले सडक, पूर्वाधार, खानेपानी र सिँचाइजस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे।
घोराही–१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासीले घरआँगनसम्म कालोपत्रे सडक पुगेको भन्दै अब सामुदायिक भवन, खानेपानी र सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए। साथै विगतमा सुरु भएका केही योजनाहरू अलपत्र परेको गुनासोसमेत राखेका थिए।
यस अवसरमा पोखरेलले आफू मुख्यमन्त्री हुँदा रणनीतिक सडकका रूपमा अघि बढाएको दामोदर मार्ग सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।
‘रणनीतिक महत्वका आधारमा सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको विषय यहाँका नागरिक जानकार हुनुहुन्छ,’ उनले भने, ‘अब उक्त सडक निर्माणको जिम्मा म स्वयं लिन्छु।’
मतदातासँगको संवादमा उनले विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्ने धारणा राख्दै दाङको समृद्धि साझा एजेण्डा भएको उल्लेख गरे। ‘यसका लागि योजनाको निरन्तरता, स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमता अपरिहार्य छ,’ उनले भने।