
गलकोट – बागलुङ नगरपालिकाको गौरवको योजनाअन्तर्गत बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ क्षेत्रमा पूर्वाधार निर्माणको काम तीव्र रूपमा अघि बढाइएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म करिब रु दुई करोड ५० लाख बराबरका भौतिक संरचना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको हो ।

यसअघि नगरपालिकाले जग्गा व्यवस्थापन, सत्तल तथा शौचालय निर्माणमा रु ७० लाख लगानी गरिसकेको छ । बागलुङ बजार र वरपर देखिने दुई दर्जनभन्दा बढी हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिने डोयको पहाडलाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गर्दै धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालेको हो ।
ब्लु हिललाई व्यवस्थित पर्यटकीय स्थल बनाउने उद्देश्यले गत वर्षदेखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी चरणबद्ध रूपमा पूर्वाधार निर्माण सुरु गरिएको बागलुङ–९ का वडाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा रु ७० लाख र चालु आवको दोस्रो चरणमा रु दुई करोड ५० लाख बराबरको काम भइरहेको छ ।
हाल ब्लु हिलमा २० फिट अग्लो शिवको मूर्ति स्थापना गर्न आवश्यक दुईतले पक्की संरचना निर्माण भइरहेको छ । यस वर्षको निर्माण कार्य क्वालिसट रिन्युयबल इनर्जी कम्पनीले गरिरहेको छ । प्राकृतिक सौन्दर्यसँगै धार्मिक संरचना निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।
ब्लु हिल विकासका लागि नगरपालिकाले करिब रु २४ करोड ५६ लाख २२ हजार लागत अनुमानसहित डिपिआर तयार गरेको छ । डिपिआरअनुसार भविष्यमा वनभोज स्थल, ध्यान केन्द्र, दृश्यावलोकन स्थल, मन्दिर, जिम हल, पार्किङ क्षेत्रलगायतका पूर्वाधार निर्माण गरिनेछ ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले ब्लु हिललाई नगरकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आन्तरिक स्रोतबाट उल्लेख्य लगानी गरिएको बताए । धार्मिक र प्राकृतिक पर्यटनको संगमका रूपमा ब्लु हिलले ठूलो संख्यामा पर्यटक भित्र्याउने विश्वास उनले व्यक्त गरे ।
समुद्री सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा रहेको डोयको पहाडमा पूर्वाधार निर्माण सुरु भएसँगै ब्लु हिलले स्थानीय तथा आन्तरिक पर्यटकको ध्यान तान्न थालेको छ । यद्यपि डिपिआरअनुसार सबै संरचना पूर्ण रूपमा निर्माण हुन अझै केही समय लाग्ने जनाइएको छ ।