हिपमत डटकम

शुक्रबार, पौष १८, २०८२ || 432  पटक पढिएको

गलकोट — एक दशकअघिसम्म गुमनाम रहेको बेलढुङ्गा पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको रोजाइमा पर्दै एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। बागलुङ र म्याग्दीको सिमानामा अवस्थित बेलढुङ्गा प्राकृतिक दृश्यावलोकन स्तम्भका रूपमा परिचित छ, जहाँ पुग्ने पर्यटकको मुख्य आकर्षण आँखैअगाडि देखिने हिमशृङ्खलाहरू हुन्।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिमानामा रहेको बेलढुङ्गा पहिचान, प्रचार–प्रसार र स्थानीयको सक्रियतासँगै चर्चामा आएको हो। यहाँबाट दर्जनौँ हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले आन्तरिक पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ।

बेलको जस्तै आकृतिमा रहेको अग्लो ढुङ्गाका कारण परम्पराकालदेखि ‘बेलढुङ्गा’ नामले चिनिँदै आएको यस स्थानमा हाल रेलिङसहितको फराकिलो पूर्वाधार निर्माण गरिएको छ। समुद्री सतहदेखि २ हजार ६१४ मिटर उचाइमा रहेको बेलढुङ्गा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको स्थानीयवासी बताउँछन्।

बागलुङ नगरपालिका–९ तित्याङका लालबहादुर थापाले बेलढुङ्गाबाट आँखैअगाडि देखिने हिमाल र हराभरा वनजङ्गलको दृश्यले आफूलाई अत्यन्तै मोहित बनाएको बताए। उनका अनुसार यहाँबाट एकै पटक धेरै हिमशृङ्खला अवलोकन गर्न सकिन्छ, जुन यसको प्रमुख विशेषता हो।

स्थानीय गोपाल श्रीसका अनुसार बेलढुङ्गा नेपालकै ती स्थानमध्ये पर्छ जहाँ एकै स्थानबाट धेरै हिमाल देख्न सकिन्छ। उनका अनुसार रुकुमको पुथा हिमालदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हुँदै रसुवाको लाङटाङ हिमशृङ्खलासम्म यहाँबाट देख्न सकिन्छ।

बेलढुङ्गाको केही तल देउरालीसम्म मोटरबाटो पुगेको छ। देउरालीबाट करिब एक किलोमिटर पदमार्ग हुँदै १० मिनेटको छोटो यात्रामा बेलढुङ्गा पुग्न सकिन्छ। पूर्वाधार विस्तारसँगै यहाँ पर्यटक आवागमन थप सहज बन्दै गएको छ।

‘एकै स्थानबाट दर्जनौँ हिमाल आँखैअगाडि देखिने थोरै स्थानमध्ये बेलढुङ्गा पनि हो,’ श्रीसले भने, ‘यहाँ पूर्वाधारले गति लिएको छ। सडक, खानेपानी र साइकल लेनजस्ता संरचनाहरू निर्माण हुँदै छन्।’ उनका अनुसार बेलढुङ्गा गाउँमा घरबासमा बसेका पर्यटक बिहान सूर्योदय र हिमाल अवलोकनका लागि बेलढुङ्गा पुग्ने गर्छन्। चैत–वैशाख महिनामा लालीगुराँस फुल्दा क्षेत्र अझ आकर्षक बन्ने गर्दछ।

बेलढुङ्गाभन्दा केही तल म्याग्दीको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गाश्रम पनि रहेको छ, जहाँ धार्मिक आस्थाका कारण ठूलो संख्यामा भक्तजन पुग्ने गर्दछन्। गण्डकी प्रदेश सरकारले बेलढुङ्गा हुँदै पञ्चकोट जोड्ने पदमार्ग निर्माणका लागि समेत लगानी गरिरहेको छ।

काठेखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहकार्यमा हालसम्म बेलढुङ्गा पुग्ने पदमार्गसहितका पूर्वाधार निर्माणमा ४० लाख रुपैयाँ लगानी भइसकेको छ। चालु आर्थिक वर्षमा साइकल लेन निर्माण तथा कान्छो धौलागिरिको प्रचार–प्रसारका लागि थप १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!