
मुस्ताङ, घरपझोङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले पहिलोपटक उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम–नाइन रुट स्टक’ स्याउका बिरुवा उत्पादन सुरु गरेको छ।

केन्द्रमा स्थापना गरिएको तन्तु प्रजनन (टिस्यु कल्चर) प्रयोगशालाबाट प्रशारित बीउ प्रयोग गरी बिरुवा उत्पादनमा जोड दिइएको हो। केन्द्रका जैविक प्रविधि प्राविधिक अशोक लिम्बूका अनुसार, नेपालमा अन्य प्रयोगशालाले यस्ता रुट स्टक बिरुवा उत्पादनमा सफल नभएका बेला मार्फास्थित केन्द्रले यो प्रविधि लागू गर्न सफल भएको छ।
यस वर्ष केन्द्रको आफ्नै जग्गामा करिब ६ हजार एम–नाइन रुट स्टक बिरुवा उत्पादन गर्ने तयारी भएको छ। गत आर्थिक वर्षमा परीक्षणका रूपमा करिब ३ सय बिरुवा उत्पादन भइसकेको थियो। पर्याप्त पूर्वाधार उपलब्ध भएमा छोटो समयमै ५०–६० हजार बिरुवा उत्पादन गर्न सकिने सम्भावना रहेको अधिकृत लिम्बूले बताए।
उच्च घनत्व प्रविधि प्रयोग गरेकाले यस प्रकारको स्याउले कम स्थानमा बढी उत्पादन दिने र किसानलाई गुणस्तरीय बिरुवा सस्तो मूल्यमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
मुस्ताङमा हाल ८३७ हेक्टरमा स्याउखेती भइरहेको छ, जसमध्ये ५७२ हेक्टरबाट उत्पादन भइसकेको छ। केन्द्रले फिल्ड परीक्षण गर्दै एम–नाइन रुट स्टकमा गाला, फुजी, डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउको कलमी गरिसकेको छ।
केन्द्रले आफ्नो प्रविधि विस्तार गर्दै किसानलाई गुणस्तरीय बिरुवा उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ।