
विराटनगर / विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रियस्तरका क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ। विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापा गएराति दुर्घटनामा परेका हुन्।

मोरङ प्रहरीका अनुसार, विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेशचोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटना करिब राति पौने १ बजे भएको थियो।
गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन्। शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।
थापा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि प्रतिस्पर्धात्मक क्रिकेटमा सक्रिय थिए। ब्याट्सम्यानका रूपमा चिनिएका उनले केही फ्रेन्चाइज लिगमा समेत सहभागिता जनाइसकेको परिवारले जनाएको छ।
राष्ट्रिय खेलाडीको असामयिक निधनले परिवार, आफन्त र क्रिकेट समुदायलाई गहिरो शोकमा डुबाएको छ। पारिवारिक स्रोतका अनुसार थापाका पिता करिब डेढ दशकदेखि बेपत्ता छन्। उनी आमा तनुजा थापा र भाइ प्रदीप थापासँग विराटनगरमै बसोबास गर्दै आएका थिए।
घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।