
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर तथा मोरङ नेपाली कांग्रेसका उपसभापति नागेश कोइरालाले नेपाली कांग्रेसप्रति जेनजी पुस्ताको आकर्षण बढ्दै गएको बताएका छन्।

गिरी फाउन्डेसनको संयोजनमा नेपाली कांग्रेस विराटनगर वडा नं. ८ द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै कोइरालाले जेनजी पुस्ताको राजनीतिक अभिभावक कांग्रेस नै भएको दाबी गरे। उनले देशका प्रमुख राजनीतिक परिवर्तनहरू कांग्रेसकै नेतृत्वमा सम्पन्न भएको उल्लेख गर्दै वर्तमान राजनीतिक संकटको निकास पनि कांग्रेसले नै दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा महासमिति सदस्य दिलीप गच्छदार र विश्वनाथ रिजालले कांग्रेसले राजनीतिकसँगै आर्थिक परिवर्तनको नेतृत्व गर्ने तथा जेनजी आन्दोलनबाट पाठ सिक्दै नयाँ सोचका साथ अघि बढ्नुपर्ने धारणा राखे।
वडा सभापति सिर्जन आचार्य (मुकेश)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले युवापुस्तामा कांग्रेसप्रतिको आकर्षण बढ्दै गएको बताए।
सो अवसरमा १५० भन्दा बढी व्यक्ति विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।