
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा पार्टी केन्द्रीय कमिटी बैठक बसेको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति असन्तुष्टि व्यक्त गर्दै कटाक्ष गरेका छन्।

आत्मआलोचना र प्रतिवेदनको नाममा आफूविरुद्ध प्रहार गर्ने प्रयास भएको भन्दै ओलीले बैठकमा कडा टिप्पणी गरेका हुन्। उनले अरूको एजेन्डा बोकेर आफूलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाए।
ओलीले भने,
“आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँड्ने काम भइरहेको छ। तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्छ भनेर माग गर्ने ? विपक्षी दल र मिडियाले समेत भन्न नसकेको कुरा आफ्नै पार्टीका नेताहरूले दस्तावेजमा समेटेका छन्।”
एक केन्द्रीय नेताका अनुसार, वरिष्ठ उपाध्यक्ष पोखरेलले यसअघि जेनजी आन्दोलनबारे गठित छानबिन समितिमा ओलीले बयान दिनुपर्ने सार्वजनिक रूपमा बताएका थिए। पोखरेलले दोषी ठहरिए कारबाही हुनुपर्ने धारणा समेत राख्दै आएका छन्।
आन्तरिक असन्तुष्टिका बीच पनि ओलीले आफूलाई भाग्यमानी नेता भएको दाबी गरेका छन्। बैठकमा उनले भने,
“म भाग्यमानी नेता हुँ। नेतृत्व र कार्यकर्ताबाट मैले असाधारण सहयोग पाएको छु।”
साथै, ओलीले महाधिवेशनको प्रक्रिया र कमिटीको हैसियतबारे प्रष्ट पार्दै नयाँ नेतृत्व चयन भई शपथग्रहण नभएसम्म सबै जना केन्द्रीय कमिटी सदस्यकै हैसियतमा रहने जानकारी गराएका छन्।