हिपमत डटकम

बिहिबार, मंसिर १९, २०८२ || 430  पटक पढिएको

काठमाडौँ — जेनजी आन्दोलनपछि कमजोर भएको प्रहरीको मनोबल उठाउन कार्यक्रम आवश्यक भएको चर्चा चलिरहेका बेला गृह मन्त्रालयले प्रहरीको राशन स्केल बढाउने प्रस्ताव अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयको प्रस्तावमा गृहमन्त्री ओमप्रकाश अर्यालले सहमति जनाउँदै अर्थ मन्त्रालयसँग अनुमोदन मागेका हुन्।

प्रहरीको प्रस्ताव अनुसार राशन स्केल अन्य सुरक्षा निकाय—विशेषगरी नेपाली सेना र सशस्त्र प्रहरी—सरह बनाउनुपर्ने माग अघि बढाइएको छ। प्रहरी प्रधान कार्यालयको प्रस्तावमा छलफलपछि गृह मन्त्रालयले डब्लुएचओले तोकेको न्यूनतम पोषण मापदण्डअनुसार राशन सुविधा अद्यावधिक गर्नुपर्ने निष्कर्ष निकालेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको पुष्टि गरे।

हाल प्रहरी कर्मचारीले १६ आइटम बराबरको क्यालोरीअनुसार दैनिक राशन पाउँदै आएका छन्। काठमाडौँ उपत्यकामा कार्यरत प्रहरीले दैनिक रु २०१ बराबरको राशन प्राप्त गर्छन्, जसबाट दिनको ४ पटक खानपानको व्यवस्था मिलाउनुपर्ने हुन्छ। प्रस्ताव पारित भएमा प्रहरीको राशन स्केल १६ बाट १९ आइटम पुर्‍याइनेछ, जसले सशस्त्र प्रहरी (१९ आइटम) बराबर र सेनाभन्दा केही कम बनाउनेछ। नेपाली सेनाका सकलदर्जाले हाल २४ आइटम राशन सुविधा पाउँदै आएका छन्।

राशन स्केल वृद्धि सम्बन्धी प्रस्ताव

  • जिल्लागत दररेटअनुसार ३ वटा विकल्पमा प्रस्ताव तयार

  • २०७१ को दररेटमा २०७८ मा १५% वृद्धि थपेर अहिले प्रहरीलाई रकम वितरण

  • ढुवानी खर्चका आधारमा जिल्लागत दररेट फरक हुने व्यवस्था

गृह मन्त्रालयले पठाएको प्रस्ताव अनुसार राशन स्केल १९ आइटम पुर्‍याएपछि सरकारले वार्षिक रु ३ अर्ब ६५ करोड अतिरिक्त आर्थिक बोझ व्यहोर्नुपर्ने अनुमान छ।

हाल प्रहरी कर्मचारीले राशन बराबरको रकम नगद नै पाउँदै आएका छन्। तर सशस्त्र प्रहरीले सेन्टर मेसमार्फत राशन सेवा लिइरहेका छन्, जहाँ हप्तामा ४ छाक मासु, अण्डा करी, सलाद तथा तरकारी उपलब्ध गराइन्छ। काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी जवानले दैनिक रु २०३ बराबरको राशन पाउँछन्, जबकि मुगुजस्ता उच्च भौगोलिक क्षेत्रका सुरक्षाकर्माले रु ३०० भन्दा बढी पाउँदै आए पनि मूल्यवृद्धिका कारण त्यसले पर्याप्त नपुग्ने अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!