
काठमाडौँ — नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विभिन्न जिल्लामा भएको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा एकलौटी गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन्।

उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईलगायतका नेताहरूसहित पोखरेल बिहीबार अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा पुगेर प्रतिनिधि छनोटमा देखिएका विवादको विषयमा ध्यानाकर्षण गराएका हुन्।
ओखलढुङ्गा, धनकुटा र दाङलगायतका जिल्लामा प्रतिनिधि चयनका क्रममा विवाद उत्पन्न भएपछि सो विषयमा छलफल गर्न उनीहरू ओलीलाई भेट्न पुगेका हुन्। ओली पक्षधर नेताका अनुसार ती जिल्लामा चयन भएका प्रतिनिधिलाई संगठन विभागले अस्वीकार गर्दै पुनः निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।
ओखलढुङ्गामा पोखरेल पक्षका मात्र, धनकुटामा ओली पक्षका मात्र र दाङमा शंकर पोखरेल पक्षका मात्र प्रतिनिधि चयन भएको रिपोर्ट आएको छ।
“उहाँहरूको चिन्ता मुख्यतः ओखलढुङ्गामा केन्द्रित थियो। त्यहाँ चयन भएका प्रतिनिधि नखोसिउन् भन्ने चाहना थियो,” ओलीनिकट एक नेताले बताए, “प्रतिनिधि छनोटमा विवाद देखिएका स्थानमा उनले विशेष चासो व्यक्त गरे।”
भेटका क्रममा पोखरेलले दाङ र धनकुटामा आफ्नो पक्षका प्रतिनिधि छनोटमा एकलौटी गरिएको भन्दै असन्तुष्टि प्रकट गरेको स्रोतले बताएको छ।
आउँदै गरेको एमाले ११औँ महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल छुट्टै समूह बनाउँदै प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका छन्।