
काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा उभिएको नेकपा एमालेले पुनर्स्थापनाकाे मागसहित आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ।

मंगलबार बसेको एमाले विघटित संसदीय दलको बैठकले तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई अदालतमा जाने जिम्मेवारी प्रदान गरेको थियो। बैठकले राजनीतिक दलहरू, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न पेसा–व्यवसायका व्यक्तिहरूलाई पनि प्रतिनिधि सभा विघटनको विरोधमा एकजुट हुन आह्वान गरेको छ।
निर्णयअनुसार आवश्यक कागजात तयारी र कानुनी परामर्श चलिरहेको बर्तौलाले बताए।
उनका अनुसार, “बिहीबार र शुक्रबार छलफल तथा तयारी पूरा गरेर आइतबारसम्म रिट लिएर अदालत पुग्नेछौँ। संसदीय दलले पुनर्स्थापनाका लागि गरेको सर्वसम्मत निर्णयकै आधारमा हमी पार्टीका तर्फबाट रिट दायर गर्न लागिरहेका छौँ,” उनले भने।
उनका अनुसार रिट व्यक्तिगत हैसियतमा होइन, सिंगो एमालेका ७९ जना सांसदको प्रतिनिधित्वमा दायर हुने छ। “दलको बैठकको निर्णयलाई नै आधार (रेफरेन्स) बनाउँछौँ, यसरी गर्दा यो व्यक्तिगत नभई सामूहिक कदम हुन्छ,” बर्तौलाले बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार रिट दायर गर्दा अन्तरिम आदेश मागिने छैन। उनीहरूले नियमित सुनुवाइको प्रक्रिया अघि बढाई अदालतले छिटो फैसला गरिदिउँ भन्ने माग मात्र गर्ने तयारी गरेका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेका थिए।