
काठमाडौँ – गएराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर लगाइएको छ। हिरासत अवधि थप्न उनलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालयमा लगिएको थियो। यस क्रममा प्रसाईंले आफू कुन मुद्दामा पक्राउ परिएका हुन् भन्ने स्पष्ट जानकारी नभएको बताएका थिए।
प्रसाईंले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्ने आन्दोलनको घोषणा गरेकाले भड्काउपूर्ण अभिव्यक्ति दिएका र यसले सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनको पक्राउको विरोधमा उनका समर्थकहरूले प्रशासन कार्यालयअगाडि नाराबाजी र प्रदर्शन गरेका थिए।