
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका दलहरूले आफूलाई विश्वासको मत दिनेमा आत्मविश्वास व्यक्त गरेका छन्।

रातोपाटीसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले विगतमा एमालेले जसपा नेपाल र जनमत पार्टीलाई सरकार गठनमा सहयोग गरेको स्मरण गर्दै, अहिले ती दलहरूले पनि बाध्यात्मक अवस्थामा सरकारको नेतृत्व लिएको एमालेलाई सहयोग गर्ने विश्वास व्यक्त गरे।
उनले भने, “संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बनेको हुँ। दलहरूले मलाई सहयोग गर्नेछन् भन्नेमा म विश्वस्त छु।”
मुख्यमन्त्री यादवका अनुसार अहिले उनको साथमा एमालेका प्रदेशसभा सदस्यहरू मात्रै रहेका छन्। उनले अन्य दलहरूसँग छलफलको प्रक्रिया अघि बढाइसकेको र चाँडै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे।
यद्यपि, उनले राजनीतिक सहमतिको सम्भावना खुला रहेको उल्लेख गर्दै भने, “यदि दलहरूको छलफलपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भयो भने म त्यसका लागि पनि तयार छु।”
सोमबार मुख्यमन्त्री कार्यालयमा राष्ट्रिय झण्डा फालिएको घटनाबारे प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री यादवले त्यसलाई राष्ट्रिय अपमानको रूपमा लिँदै सम्बन्धित नेतामाथि नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले कारबाही गर्न माग गरे।
उनले थपे, “यदि कसैलाई मेरो मुख्यमन्त्री पदप्रति असन्तुष्टि छ भने म राजीनामा दिन तयार छु, तर राष्ट्रियता र झण्डाको सम्मानमा म कहिल्यै सम्झौता गर्न सक्दिन।”