
काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापन पक्षीय नेताहरुलाई विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको तयारी गर्न निर्देशन दिएका छन्।

दुई हजार चार सय अठ्ठासी (२,४८८) महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित पत्र बुझाएका थिए। तर, सभापति देउवाले उक्त माग कार्यान्वयन नगरी नियमित महाधिवेशनकै वातावरण बनाउन निर्देशन दिएका हुन्।
गत आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कहिले गर्ने भन्ने विषयमा विवाद भएपछि बैठक स्थगित भएको थियो। त्यसपछि बसेको संस्थापन पक्षीय नेताहरूको अनौपचारिक बैठकमा कार्यवाहक सभापति खड्काले सिंगापुरबाट उपचाररत देउवाको यस्तो निर्देशन आएको जानकारी दिएका थिए।
बैठकमा सहभागी एक नेताले भने, “सभापति देउवाले विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनमा सहमतिको प्रयास गर्न निर्देशन दिनुभएको छ।”
सहमहामन्त्री किशोरसिंह राठोरले पनि देउवाले आफूलाई टेलिफोनमार्फत विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने भन्दै त्यसतर्फ नजान निर्देशन दिएको बताएका छन्।
देउवा कात्तिक १० गते श्रीमती डा. आरजु राणा देउवासँग उपचारका लागि सिंगापुर गएका हुन्। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा कुटिएका दम्पतीले करिब एक महिना सैनिक अस्पतालमा उपचार गराएका थिए।
उनी असोज २८ गते पार्टी कार्यालय सानेपामा सार्वजनिक रूपमा देखिँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए। त्यसपछि जारी केन्द्रीय समिति बैठक खड्काको सभापतित्वमा सञ्चालन भइरहेको छ।
बैठकमा नियमित महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मतभेद कायम छ।
संस्थापन पक्षले आगामी वैशाख २५ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ भने,
डा. शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।
पक्ष–विपक्षबीच सहमति नजुट्दा पार्टीभित्र महाधिवेशनको मिति र प्रकारबारे निर्णय अझै अनिश्चित बनेको छ।