काठमाडौँ । पर्सा र बारा जिल्लामा हैजाविरुद्धको खोप अभियान असोजदेखि कात्तिक महिनाभित्र सञ्चालन हुने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखाको नेतृत्वमा, डब्लुएचओ र युनिसेफको प्राविधिक सहयोगमा एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई मुखबाट दिइने एक मात्र खोप प्रदान गरिनेछ।
पर्साका सबै १४ स्थानीय तह र बाराका ६ स्थानीय तहलाई लक्षित गरिएको छ।
पर्साको मुरली टोलबाट भदौ ६ गते देखिन थालेको हैजा संक्रमणले हालसम्म पर्सा र बारामा १,६८५ जना संक्रमित फेला परेका छन्। यसै कारण सरकारले खोप अभियान सुरु गर्न लागेको हो।
यसअघि काठमाडौँ उपत्यका र कपिलवस्तुमा पनि यस्तै खोप अभियान सञ्चालन गरिएको थियो।