काठमाडौँ, १५ अगस्ट — प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुन कार्यान्वयन मात्रै पर्याप्त नरहेको बताएका छन्। ललितपुरमा शुक्रबार आयोजित डिजिटल फ्रेमवर्क २०२५ कार्यक्रममा सम्बोधन गर्दै उनले भ्रष्टाचार शून्यमा पुर्याउन नागरिकको आचरण, चरित्र र गुणस्तर सुधार अनिवार्य भएको बताए।
प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार शून्यमा पुर्याउन सक्छौं, तर त्यो केवल कानुनले सम्भव छैन। मानिसको सोच, प्रतिबद्धता र मूल्य प्रणाली सुधार्नुपर्छ। जब नागरिकले आफैं ‘म गलत गर्दिन’ भन्ने सोच विकास गर्छ, तब मात्र समाज सुध्रिन्छ।”
उनका अनुसार कानुन कार्यान्वयन आवश्यक भए पनि यो एकमात्र उपाय होइन। “लुकेर हुने भ्रष्टाचार कानुनले मात्र पत्ता लगाउन सक्दैन। त्यसैले शिक्षाले मान्छेको राम्रो पक्ष उजागर गर्ने र नराम्रो पक्ष दबाउने मोडेल चाहिन्छ,” उनले जोड दिए।
ओलीले मोडेल शिक्षाको आवश्यकता औँल्याउँदै समाजमा नैतिकता, उत्तरदायित्व र गुणवत्तापूर्ण सोच विकास गर्ने शिक्षाको खाँचो औंल्याए।
सामाजिक सञ्जाल र प्रविधिको सन्दर्भमा प्रधानमन्त्रीले टेक्नोलोजीको सदुपयोग गर्न आग्रह गरे। “यदि सामाजिक प्लेटफर्महरू सही दिशामा प्रयोग गरियो भने ती अत्यन्त उपयोगी हुन्छन्,” उनले भने।
कृत्रिम बुद्धिमत्ता (AI) को प्रसङ्गमा प्रधानमन्त्री ओलीले मानव मस्तिष्कभन्दा शक्तिशाली कुनै प्रविधि आजसम्म नबनेको उल्लेख गर्दै, “AI सँग डराउन होइन, सदुपयोग गर्न सिक्नुपर्छ,” भन्दै प्रविधिप्रति सकारात्मक दृष्टिकोण राख्न सबैलाई आग्रह गरे। —न्युज एजेन्सी नेपाल