सोमबार, चैत्र १७, २०७६ || 487  पटक पढिएको

वीरेन्द्रनगर नगरपालिकाले विभिन्न मुलुकबाट हालै फर्केकाहरुको विवरण सङ्कलन गरी निगरानी बढाएको छ । नगरका १६ वटै वडामा पछिल्लो समय भित्रिएका १७२ जनाको स्वास्थ्य अवस्थामाथि निगरानी राखिएको नगरपालिकाले जनाएको छ । विश्वमा कोभिड–१९ महामारीका रूपमा फैलिइरहेका बेला स्वदेश फर्किएका ती नागरिकको नियमित स्वास्थ्य परीक्षण शुरु गरिएको छ । कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले छिमेकी मुलुक भारतका साथै दुबई, साउदी अरब, कतार, कुवेत, कोरिया र मलेशियाबाट गरी पछिल्लो समय १७२ फर्किएको जानकारी दिनुभयो । सबै वडाले ती व्यक्तिको विवरण नगर कार्यपालिकाको कार्यालयमा पठाइसकेको उहाँले बताउनुभयो । “तत्काल कुनै स्वास्थ्य समस्या देखिए होम क्वारेन्टाइनमै बस्न अनुरोध गरेका छौँ, अहिलेसम्म कुनै त्यस्तो समस्या देखिएको सूचना प्राप्त भएको छैन्”, कार्यवाहक नगरप्रमुख ढकालले भन्नुभयो, “ती घरपरिवारलाई कोरोना भाइरसबारे सचेतना प्रदान गर्ने गरिरहेका छौँ ।” नगरपालिकाले मुख्य बजार क्षेत्र रहेका वडाहरुमा दमकलद्वारा ‘डिसइन्फेक्टेट’ छरिरहेको जनाएको छ । सबै स्वास्थ्य संस्थामा न्यूनतम औषधि र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) पठाइएको कार्यवाहक नगरप्रमुख ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यपालिका बैठकले लकडाउन अवधिमा खटिने स्वास्थ्यदेखि फोहरमैला व्यवस्थापनका क्षेत्रमा खटिने कर्मचारीलाई श्रेणीअनुसार प्रतिदिन रु ६०० देखि ८०० प्रोत्साहन खर्च उपलब्ध गराउने निर्णय गरेको छ । युवकको रिर्पोट नेगेटिभ कतारबाट यही चैत ४ गते १९ वर्षीया युवतीसँगै काठमाडौँ आइपुग्नुभएका यहाँका एक युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । प्रदेश अस्पतालले उहाँको रगत परीक्षणका लागि काठमाडौँ पठाएको थियो । उहाँमा नेगेटिभ रिर्पोट देखिएको अस्पतालले जनाएको छ । हाल ती युवा होम क्वारेन्टाइनमै बसेको बताइएको छ । क्वारेन्टाइनमै किरियापुत्री वीरेन्द्रनगरको होटल क्वारेन्टाइनमै किरियापुत्री बसेका छन् । दैलेख आठबिस नगरपालिका–१ सातलाका देउमले लोहार भाइ पदमको किरिया बस्नुभएको हो । रोजगारीका लागि भारतको हल्द्वानीमा रहनुभएका देउमलेले चैत ११ गते भाइको निधनको खबर पाउनुभयो । पाँच दिन लगाएर सुर्खेत आउनुभएका उहाँ नेपालमा लकडाउनका कारण गड्डाचौकी नाकामा अलपत्र पर्नुभयो । कञ्चनपुरमा दुई दिन क्वारेन्टाइन बसेपछि कर्णाली सरकारले देउमलेसहित ६० जनालाई शनिबार उद्धार गरी सुर्खेतको होटल अशोकामा राखेको हो । क्वारेन्टाइनमा देउमलेसहितका तीन जना आफन्तले जुठो बारेका छन् । उहाँले गाउँमै गएर क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । स्वास्थ्यकर्मीका अनुसार उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । नक्कली पास बनाउने पक्राउ जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली पास बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बाँके उपमहानगरालिका–११ निवासी राजु कोरोसीलाई आइतबार पक्राउ गरेको हो । नेपाल सरकारले कोभिड–१९ प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि यही चैत ११ गतेदेखि १८ गतेसम्म गरेको लकडाउनको समयमा धेरैले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट पास लिइरहेको अवसर पारेर उनले नक्कली पास बनाएको भेटिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । उनले ग१ज ६३९८ नंको बलेरो जिपको सुर्खेत–नेपालगञ्ज रुटको नक्कली पास बनाएको रायमाझीले बताउनुभयो । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित नारायण पेट्रोलपम्पमा पेट्रोल भर्न जाँदा त्यहीँबाट कोरोसीलाई पक्राउ गरिएको उहाँको भनाइ छ । व्यक्ति र बलेरो दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!