काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षका प्रमुख कार्यहरू तथा अपेक्षित उपलब्धिहरू हासिल गर्न उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित मन्त्रीहरूसँग आज कार्यसम्पादन सम्झौता हुँदैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र कार्यसम्पादन सम्झौताको हस्ताक्षर तथा आदान–प्रदान कार्यक्रम आयोजना गरिएको छ।
गत वर्ष भदौ २७ गते यस्तै सम्झौता भएकोमा यस वर्ष लगभग एक महिना अगावै सम्झौता गर्न लागिएको हो। प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार वर्षभर गरिने काम छिटो, प्रभावकारी र नतिजामुखी बनाउन यो सम्झौता महत्वपूर्ण आधार बन्नेछ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षालाई मूर्त रूप दिन पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा समयमै सुधार ल्याउने उद्देश्यले कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै सुरु गरिएको हो।
प्रधानमन्त्रीसँग सम्झौता गरेपछि मन्त्रीहरूले आफ्ना मन्त्रालयका सचिवहरूसँग पनि यस्तै कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ, जसबाट कार्यान्वयन प्रक्रिया अझ स्पष्ट र जवाफदेही बन्ने विश्वास लिइएको छ।