पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको अनुगमन समितिले नगरका ग्रामीण भेगमा रहेका फार्मेसी, राजश्व संकलन केन्द्र र किराना पसलहरुको अनुगमन गरेको छ ।
नगर उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको अगुवाईमा वडा नं. ७ को किर्तिपुरमा रहेको गौतम होमियो फार्मेसी, वडा नं. ५ र ६ को कार्यालयमा रहेको राजश्व संकलन केन्द्र, वडा नं. ६ को मंगलबारे पशु सेवा केन्द्र र वडा नं. ६ कै साह किराना पसलमा अनुगमन निरीक्षण गरिएको हो ।
किर्तिपुरमा अवस्थित गौतम होमियो फार्मेसीमा एलोपेथिक औषधिहरु भेटिएकोले ति औषधीहरु बरामद गरिएको छ । वडा नं. ५ र ६ को राजश्व संकलन केन्द्रहरुको पछिल्लो अपडेड र सेवाग्राहीहरूको धारणा बुझ्ने कार्य भएको थियो ।
यसैगरी साह किराना पसलमा बेच्नका लागि राखिएको खाने तेलहरुमा उत्पादन मिति नभएको र म्याद गुज्रिएको १५ लिटरका तेल बरामद गरिएको थियो ।
सो अनुगमन निरीक्षणमा नगरका अनुगमन निरीक्षक एवं स्वास्थ्य अधिकृत एकराज खत्री, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, कृषि शाखा प्रमुख सविना राई र नगर प्रहरीहरुको उपस्थिति रहेको थियो ।