काठमाडौं, साउन २७ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज (मंगलबार) प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्। दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यक्रम तय भएको छ।
मुख्यमन्त्री बानियाँ संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३(१) अनुसार विश्वासको मत लिन लागेका हुन्।
उनी साउन २० गते नेपाली कांग्रेस र एमाले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधान अनुसार, धारा १६८(४) अन्तर्गत नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ।
हाल प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का २१ सांसद छन्।
अन्य दलतर्फ राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेपाल मजदूर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन्।
बानियाँको विश्वासको मत प्रक्रियालाई प्रदेशको सत्ता सन्तुलन र आगामी राजनीतिक समीकरणको दृष्टिले विशेष महत्त्वका साथ हेरिएको छ।