हिपमत डटकम

शुक्रबार, साउन २४, २०८२ || 595  पटक पढिएको

काठमाडौं, भदौ २३ – नयाँ संसद भवनको निर्माण कार्य तोकिएको समयमै सम्पन्न हुन नसकेको विषयमा सांसदहरूले गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै सांसदहरूले निर्माणको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गरे।

बैठकमा नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले संसद भवनको ढिलाइले देशभरको भौतिक पूर्वाधारको अवस्था स्पष्ट देखिएको बताइन्। “हाम्रो पूर्वाधारको अवस्था कस्तो छ भनेर बुझ्न संसद भवन हेर्नुपर्छ भन्ने स्थिति छ। थपिएको म्यादमा पनि कामको प्रगति न्यून छ। यस्ता अवस्थामा विलम्ब शुल्क किन नलागाइएको भन्ने प्रश्न उठ्छ,” उनले भनिन्।

उनले निर्माण कार्यमा देखिएको शिथिलता र जनशक्ति परिचालनको कमजोर अवस्थाप्रति प्रश्न उठाउँदै भनिन्, “पटक–पटक अनुगमन जाँदा कामदारहरूको संख्या अत्यन्तै न्यून देखिन्छ। कागजमा लेखिएको प्रगति र वास्तविकता मेल खाँदैन।”

नेकपा एमालेका सांसद प्रभु हजारा पनि लगातार म्याद थपिँदा पनि काम सम्पन्न नहुनु चासोको विषय भएको बताए। “यो संसद भवनकै स्थिति यस्तो छ भने देशका अन्य भौतिक पूर्वाधारको अवस्था कस्तो होला? अबको म्यादमा अवश्य काम सम्पन्न गर्नुपर्छ, कुनै बहाना मान्य हुँदैन,” उनले चेतावनी दिए।

नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमार साहले हालको प्रगति दरका आधारमा आगामी दुई वर्षभित्र पनि निर्माण सकिने सम्भावना नरहेको उल्लेख गरे। उनले बताएअनुसार जुलाई महिनामा ३.३ प्रतिशत प्रगति हुनुपर्नेमा मात्र ०.८९ प्रतिशत काम भएको देखिन्छ।

उनले भने, “हामी स्थलगत अनुगमनमा जाँदा यस्तो गतिमा काम भए डिसेम्बर त के, दुई वर्षभित्र पनि सम्पन्न हुने अवस्था देखिँदैन।”

यस्तै, एमाले सांसद सरस्वती सुब्बाले संसद भवन अनुगमनका क्रममा कामदारको संख्या न्यून रहेको उल्लेख गर्दै प्रश्न गरिन्, “हिउँदे अधिवेशन त्यही भवनबाट सुरु गर्नसक्छौं त? हामीले अनुगमन गर्दा वायरिङ गर्ने एकजना मात्रै भेट्यौं। यस्तो अवस्थामा समयमै काम कसरी सकिन्छ?”

समितिका सांसदहरूको धारणा अनुसार, निर्माण कार्यमा भएको ढिलाइ, प्राविधिक निरीक्षणमा देखिएको कमजोरी, तथा जिम्मेवार निकायबाट जवाफदेहिता नहुनु संसदकै गरिमा र राष्ट्रको विकास योजनाका लागि गम्भीर चुनौती भएको स्पष्ट भएको छ। न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!