
काठमाडौँ, भदौ ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ। बैठकका एजेन्डाहरू सार्वजनिक गर्दै पार्टी प्रवक्ता मनिष झाले बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी गतिविधि, तथा विभिन्न संगठनात्मक रिपोर्टहरू माथि छलफल हुने जानकारी दिए।

बैठकमा:
केन्द्रीय विभागको प्रगति प्रतिवेदन,
संसदीय दलको रुपन्देही बैठक अपडेट,
रुपन्देही उपनिर्वाचन तथा संगठनको ताजा अवस्था,
‘कुलिङ अफ पिरियड’ मा देखिएको गडबडीबारे छानबिन प्रतिवेदन
माथि गहिरो छलफल हुने जनाइएको छ।
साथै, प्रदेश इन्चार्जहरूले प्रदेश रणनीति र रिपोर्टिङ प्रस्तुत गर्नेछन्, जसका लागि प्रत्येक इन्चार्जलाई ३ मिनेट र केन्द्रीय सदस्यहरूलाई २ मिनेट समय छुट्याइएको प्रवक्ता झाले जानकारी दिए।
बैठकले निम्न विषयमा निर्णय र अनुमोदन गर्नेछ:
पार्टी सचिवालयका निर्णयहरूमा छलफल,
विधानको व्याख्या र अनुमोदन,
केन्द्रीय विभाग प्रमुखको मनोनयन,
पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्ताव।
त्यसैगरी, विदेशस्थित नेपाली नागरिकहरूलाई मताधिकार दिने विषयमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय लिने तयारी पनि बैठकमा रहेको छ। साथै, सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानबारे प्रगति रिपोर्ट प्रस्तुत गरिने र अभियानलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने बताइएको छ।