पथरी शनिश्चरे । ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।
आज भएको दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिषन राईले जितेका छन् । पुरुषतर्फ राई र महिलातर्फ अंकिता राईले उपाधि चुमिन् ।
भिषनले १० किलोमिटर दुरी २६ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए । महिलातर्फकी धाविक अंकिता राईले १० किलोमिटर ३८ मिनेट १६ सेकेन्डमा पार गरेर उपाधि चुमिन् । पुरुषतर्फ सोनुप राई द्वितीय, आशिष मण्डल त्रितीय र प्रशान्त पौडेल सान्तवना भए । राईले २७ मिनेट २० सेकेन्ड, मण्डलले २७ मिनेट ३७ सेकेन्ड र पौडेलले २७ मिनेट ५६ मिनेटमा दुरी पार गरे ।
यसैगरी महिलातर्फ स्मारिका गौतम दोस्रो, सुविस्म लिम्बु तेस्रो, मनिका माझी सान्तवना भए । गौतमले ४१ मिनेट २८ सेकेन्ड, लिम्बुले ४२ मिनेट ३ सेकेन्ड र माझीले ४२ मिनेट ५० सेकेन्डमा दूरी पार गरे ।
पथरी शनिश्चरे वडा नं.८ को मंगलबारे बजारबाट किर्तिपर हुँदै सुन्दरीचौक सम्म गराइएको दौड प्रतियोगितामा सबै सानो उमेर १२ का चोलुङ सेर्माले पनि दौड पूरा गरेका थिए ।
विजेता, उप–विजेताहरुलाई समापन कार्यक्रममा पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका सदस्य सचिव नविन खुलालले जानकारी दिनुभयो ।
दौडको उद्घाटन नगर उप–प्रमुख देविमाया काफ्लेले रिबन काटेर गर्नुभएको थियो ।
दौड प्रतियोगितामा वडाध्यक्षहरु उद्धवराज बस्नेत, लोककिरण न्यौपाने, नविन कार्की लगायतको उपस्थिति रहेको थियो ।