पथरीशनिश्चरे । पथरी रंगशालामा जारी फुटबल प्रतियोगिताको आजको खेलमा प्रभात सामुदायिक युवा क्लब विजयी भएको छ ।
पहिलो हाफ निकै तनावपूर्ण रहेको खेलमा १३ औं मिनेटमा प्रभातका अर्सित कार्कीले सिरिजंगाका गोलरक्षकको गल्तीको फाईदा उठाउँदै पहिलो गोल गरेका थिए ।
खेलको २७ औं मिनेटमा प्रभातका खेलाडीको सुटलाई सिरिजंगाका गोलरक्षक मनोज दहालले उत्कृष्ट बचाउ गर्दै आफ्नो जालिमा दोस्रो गोल हुनबाट जोगाएका थिए ।
तनावका बिच निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफको अतिरिक्त समयमा सिरिजंगाले पाएको पेनाल्टीलाई स्ट्राईकर जुनियर सावाले गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा पारेका थिए ।
दोस्रो हाफमा दुवैपक्षबाट गोल हुन नसकेपछि खेल टाईव्रेकरमा धकेलिएको थियो । टाईव्रेकरमा प्रभात ३-२ ले विजयी भएको हो । आजको खेलमा सिरिजंगाका विशाल चौधरी म्यान अफ द म्याच घोषित भए ।