काठमाडौं । दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रबाट पक्राउ परेका चौधरी बुधबार साँझ डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
सर्वोच्चले आधिकारिक पत्रमार्फत यसअघिको पत्र अनधिकृत भएको र सो पत्रका आधारमा पक्राउ परेका भए रिहा गर्न आदेश दिएपछि चौधरी रिहा भएका हुन ।
उनि दिउँसो प्रज्ञाभवनबाट पक्राउ परेका थिए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता सभामा सहभागी हुन प्रज्ञाभवन गएका बेला उनलाई सादा पोशाकमा पुगेका प्रहरीले पक्राउ गरेका थिए ।
प्रहरीले पक्राउ गर्ने क्रममा सर्वोच्च अदालतको पत्रका आधारमा पक्राउ गरेको बताएको थियो । तर, पछि पत्र नै अनधिकृत रहेको खुलेको थियो ।