बाँकेको नेपालगन्ज विमानस्थलमा शनिबार नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’ मा परेको छ । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।
विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य रहेकामा उनीहरु सबै सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जहाज अवतरण हुनेबेला चिप्लिएर धावनमार्गबाट बाहिर जालीनेर पुगेको बताइएको छ । उक्त विमानमा सामान्य क्षति पुगेको र प्राविधिक टोलीले मर्मत गरेपछि उडान भर्न सकिने बताइएको छ।