शनिबार, चैत्र १५, २०७६ || 775  पटक पढिएको

“मान्छेको एकान्तमा बस्ने बानी त्यति छैन, यो मुख्य चुनौती देखिएको छ”, बर्दिवास नगरका प्रमुख विदुरकुमार कार्की भन्नुभयो, “मैले लकडाउन घोषणा भएदेखि नै यसको आवश्यकता र प्रभावकारिता बुझाउन घरदैलो जारी राखेको छु, अहिले क्रमशः बुझ्न थालेका छन् । ।” कोभिड–१९ को सङ्क्रमण आउन नदिन महोत्तरीका बर्दिवास, भङ्गाहा र मटिहानीलगायतका नगरपालिकामा जनप्रतिनिधिले यसरी नै सचेतनाका लागि घरदैलो अभियान जारी राखेका छन् । कहाँ, कुन बस्तीमा बाहिरबाट को आए भन्ने सूचना पाउना साथ नगरप्रमुख स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित घरै पुग्न थाल्नुभएको छ । लगातारको प्रयत्नपछि लकडाउन प्रभावकारी बन्दै गएको नगरप्रमुख कार्कीको ठम्याइ छ । लकडाउनका दिनहरु बित्दै जाँदा गरिब र दलित बस्तीमा खाद्यान्न सङ्कट पर्न सक्ने देखिएको छ । यसबीचमा अभियानसँगै यस्ता परिवारको लगत खडा गर्ने र राहत घरघर पु¥याउने आवश्यक तयारी पनि थालिएको नगरप्रमुख कार्कीले बताउनुभयो । “हामी तपार्इंहरु कहीँ ननिस्कनुहोस्, सामान के चाहिन्छ बिलसहित सामान ल्याइदिन्छौँ भनिरहेका छौँ”, कार्कीले भन्नुभयो, “यसक्रममा सर्वसाधारणको मागअनुसारको उपभोग्य वस्तु सहुलियत दरमा घरमै पु¥याइदिने तयारी छ ।” वस्तुका लागि रकम दिन नसक्ने गरिबको हकमा विशेष व्यवस्था गरेर भोकै बस्ने अवस्था आउन नदिने कार्कीको प्रतिबद्धता छ । जिल्लाको सुदूरपूर्वी दक्षिणवर्ती मटिहानी नगरपालिकामा घरघरै साबुनपानीले हात धुन, बसउठको दूरी कायम गर्न र बाहिर आउनेबारे तत्काल जानकारी गराउन जनप्रतिनिधिले आम जनतासँग अपिल गर्ने गरेका छन् । आफ्नो नगरपालिकाको मुख्यबजार मटिहानी भारतीय बजार मधवापुरसँग टाँसिएकै हुँदा दोहोरो आवागमन रोक्ने कुरा सबैभन्दा चुनौतीपूर्ण बनेको नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । घरदैलोको क्रममा मुख्यरूपमा कोरोनाको भयावह पक्ष जानकारी गराउँदै यसबाट बच्ने उपाय बताइरहँदा आम जनताले कुरा बुझ्दै गएका मण्डलको ठम्याइ छ । लकडाउनको महत्व र आवश्यकताबारे सकारात्मक सन्देश बढ्दै गएपछि यसको प्रभावकारिता पनि बढ्दै गएको मण्डलले बताउनुभयो । “लकडाउनका चार दिन बिते, अब मान्छे आफैँ यसको समर्थन गर्न थालेका छन्”, मण्डलले भन्नुभयो । लकडाउन बढ्नसमेत सक्ने अवस्थालाई मध्यनजर गर्दै खासमा अत्यन्त गरिब बस्तीमा खाद्यान्न अभाव हुन नदिन आवश्यक गृहकार्य थालिएको मण्डलको भनाइ छ । भङ्गाहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतोले वडा बस्तीका घरघरै एक सिसी स्यानिटाइजर, तीन–तीनवटा साबुन र मास्क पु¥याउनुभएको छ । एक महिला र एक पुरुष सस्थ्यकर्मीसहित घरघरै पुगेर मास्क लगाउने तरिका, साबुनपानीले पटकपटक हात धुने र स्यानिटाइजर लगाउने तरिका सबैलाई सिकाइएको महतोले बताउनुभयो । भङ्गाहा–४ मा एक हजार ३०० घरधुरी छन् । जसमध्ये मुसहर, बाँतर, चमार र दुसाधसहितका अति विपन्न दलितका घर नै ३०० को हाराहारीमा रहेका महतोले जानकारी दिनुभयो । आफ्नो बस्तीमा लकडाउनबारे आम जनता सहयोगी देखिएको महतोको ठम्याइ छ । “कोही घरबाट निस्कँदैनन्, आवश्यकताका सामानबारे वडा कार्यालयलाई खबर गर्न बस्तीबस्तीमै अगुवा तोकिएका छन्, खबरअनुसार सामान पु¥याइदिनासाथ बिलअनुसारको नगद दिने गरेका छन्”, महतोले भन्नुभयो, “अतिविपन्नको सूची तयार गरिसकिएको हुँदा कुनै राहत प्याकेज पु¥याउन झमेलाको स्थिति छैन ।” यी स्थानीय तहले थालेका प्रयत्नले लकडाउनको प्रभावकारिता बढाएपछि छरछिमेकका अन्य नगर÷गाउँपालिकाले पनि यसबारे चासो बढाउन थालेका छन् । यसैबीच जिल्लाको बर्दिवास–३ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाले आफ्नै प्रयोगशालामा विज्ञान सङ्कायका १२ कक्षाका विद्यार्थीले बनाएका स्यानिटाइजर, सशस्त्र प्रहरी (सशस्त्र प्रहरी बल, प्रदेश नं २ बाहिनी बर्दिवास–४), नेपाल प्रहरी (इलाका प्रहरी कार्यालय बर्दिवास) र सञ्चारकर्मीलाई वितरण गरेको छ । कार्यक्षेत्रको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी, नेपाल प्रहरी र सञ्चारकर्मीलाई शुक्रबार स्यानिटाइजर वितरण गरिएको प्रधानाध्यापक दीपक बरालले जानकारी दिनुभयो । विद्यालयका रसायनशास्त्रका शिक्षक गङ्गाप्रसाद फुँयाल र विज्ञान शिक्षक एवं ल्याब इञ्चार्ज अखलेश यादवको प्रत्यक्ष रेखदेखमा विद्यार्थीले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका स्यानिटाइजर आफ्नै प्रयोगशालामा बनाउन थालेका छन् । बजारमा स्यानिटाइजरको माग बढेकै बीच विद्यार्थीले यो तयार गरेपछि निकै राहत भएको बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!