हेनरिक लारफेल्डटसँग स्कीका लागि चर्चित अस्ट्रियाको इस्गलमा रहेको किट्जलो रिसोर्ट र बारको सम्झना ताजै छ, जहाँ उनले तीन हप्ताअघि कयौँ रात पार्टी गर्दै बिताएका थिए ।

अहिले राजधानी कोपनहेगनबाट ५० माइल टाढा आफ्नो घरमा क्वोरेन्टाइनमा रहेका ५६ वर्षीय डेनमार्कका नागरिकका अनुसार किट्जलोमा बिताएको समय स्कीपछि गरिने नियमित कार्य नै थियो – मानिसहरुको बाक्लो जमघट, धेरै रक्सी र सेवाका लागि तत्पर वेटरहरु ।

त्यहाँबाट घर फर्किएको चार दिनपछि लारफेल्डटमा कोरोनाभाइरसको संक्रमण देखियो । उनीसँगै यात्रा गरेका साथी पनि संक्रमित बने । उनीहरु दुईजना मात्र होइन, युरोपभरका सयौँ संक्रमितको उद्गम थलो इस्गल, धेरै जसको सिधै किट्जलो रहेको पाइएको युरोपेली अधिकारीहरुले जनाएका छन् ।

यस विषयमा सीएनएनले किट्जलोका अधिकारीसँग सम्पर्क गर्न कुनै प्रतिक्रिया दिन चाहेनन् । तर, त्यहाँका मालिक बन्हार्ड जान्गर्लले एक जर्मन अनलाइन पत्रिकासँग गत मार्च १६ मा कुरा गर्दै आफ्ना कामदारहरु पनि बाहिरबाट आएका व्यक्तिबाट संक्रमित बनेको बताएका थिए । कोरोनाभाइरसको संक्रमण फैलिनुमा एउटा कम्पनीलाई दोष दिनु न्यायसंगत नभएको उनको जिकिर थियो ।

सरकारले जारी गरेको चेतावनीका बावजुद आइसल्याण्डका एक समूह इस्गल पुगेका थिए, जहाँ उनीहरु संक्रमित बने । यति हुँदा पनि अस्ट्रियाको सरकारले स्की पर्यटन र त्यसपछि हुने पार्टीलाई थप ९ दिनसम्म चल्न दियो । अन्ततः मार्च १३ मा पूर्णरुपमा रिसोर्टलाई क्वारेन्टाइन गरियो । इस्गलमा रहेका अन्य बार भने मार्च १० मा नै बन्द भइसकेका थिए ।

बार टेन्डरमा कोरोनाभाइरसको संक्रमण देखिए पनि अस्ट्रियाको टाइरोल क्षेत्रका स्वास्थ्य अधिकारीहरुले मार्च ८ मा विज्ञप्ति जारी गर्दै ‘चिन्ता गर्नुपर्ने कुनै अवस्था नरहेको’ व्यहोरा दोहो¥याएका थिए । सीएननले टाइरोलको स्वास्थ्य आयोगका निर्देशक फ्रान्ज काट्जग्राबरलाई सम्पर्क गर्दा थप प्रतिक्रिया दिन मानेनन् ।

इस्गल र त्यस आसपास रहेका गाउँले हरेक जाडो मौसममा ५ लाखभन्दा बढी पर्यटकलाई स्वागत गर्ने गर्छन् । जसमा बिल क्लिन्टन, पेरिस हिल्टन, नाओमी क्याम्बेलजस्ता चर्चित राजनीतिज्ञ र सेलिब्रिटी पनि सामेल छन् ।

कोरोनाभाइरस फैलिनुमा इस्गल र त्यहाँका बार जिम्मेवार रहेको भन्ने तथ्यलाई अस्ट्रियन अधिकारीहरुले बारम्बार नकारे पनि अन्ततः अहिले उनीहरु पनि त्यसलाई मान्न तयार भएका छन् ।

आइसल्याण्डको संक्रामक रोग नियन्त्रण विभागका प्रमुख थोरोल्फर गुडनासनले मार्च ४ मा अस्ट्रियाका अधिकारीहरुलाई आइसल्याण्डका पर्यटकहरु इस्गलमा रहँदा कोरोनाभाइरसबाट संक्रमित भएको भनेर जानकारी दिएका थिए । अस्ट्रियालाई जानकारी गराएको अर्को दिन आइसल्याण्डले इस्गललाई चीन, दक्षिण कोरिया, इटाली र इरानसँगै कोभिड–१९ को जोखिम क्षेत्रमा सूचीकृत गरेको थियो । कोपनगेहन विश्वविद्यालयमा संक्रामक रोगबारेका प्राध्यापक रहेका जान प्राभ्सगार्ड क्रिस्टिएन्सनका अनुसार आइसल्याण्डले इस्गललाई सो सूचीमा राखेपछि अस्ट्रियाले त्यसलाई चेतावनीको रुपमा लिनुपर्ने थियो । ‘सूचना पाएपछि त्यसक्षेत्रलाई तत्कालै क्वारेन्टाइन गरिनुपर्थ्यो,’ उनी भन्छन् । तर, टाइरोलमा रहेका स्थानीय अधिकारीहरुले जोखिमलाई बेवास्ता गरे । मार्च ५ जारी विज्ञप्तिमा उनीहरुले उल्टै टाइरोलमा कुनै संक्रमित नरहेको बताए ।

बरु, आइसल्याण्डका पर्यटक चढेको विमानमा इटालीबाट आएका एक बिरामी पर्यटक पनि रहेको र अस्ट्रियाभित्रबाट भन्दा पनि त्यहीँ बाहिरबाट उनीहरु संक्रमित भएको दाबी गरियो ।

आइसल्याण्डले चेतावनी दिएको तीन दिनपछि किट्जलोमा एक बार टेन्डरमा कोरोनाभाइरसको संक्रमण देखियो । उनीसँग सम्पर्क आएका २२ जनालाई क्वारेन्टाइनमा राखियो, जसमध्ये १५ जनामा कोभिड–१९ पोजेटिभ देखियो । यतिबेलासम्म कोरोनभाइरसको संक्रमण टाइरोलभन्दा बाहिर फैलिसकेको थियो ।

पछिल्लो सरकारी तथ्याङ्कअनुसार डेनमार्कमा देखिएका १४ सय संक्रमित मध्ये २९८ जना अस्ट्रियाबाट संक्रमित भएका थिए । जबकि त्यहाँ अहिले युरोपमा महामारीको केन्द्रविन्दु बनेको इटालीबाट आएका संक्रमितको सङ्ख्या ६१ मात्र रहेको छ ।

मार्च २० सम्म आइसल्याण्डका अधिकारीहरुले अहिलेसम्म देशमा ८ जना इस्गलबाट संक्रमित भएको पुष्टि भएको जनाएका थिए ।

लारफेल्डटका अनुसार त्यो रात संक्रमित बनेका ३६ वर्षीय बारटेन्डरले सिटी फुक्दै ग्राहकहरुलाई बाटो छाड्न आग्रह गर्दै थिए भने केही ग्राहकहरुले रमाइलो मानेर त्यही सिटी फुकिरहेका थिए । ‘त्यतिबेलासम्म उनी संक्रमित थिए भन्ने कसैलाई थाहा थिएन,’ उनले भने ।

अहिलेसम्म चार देशले आफ्नो देशमा भेटिएका संक्रमित इस्गलसँग सम्बन्धित रहेको बताएका छन् । डेनमार्क र आइसल्याण्डबाहेक जमर्नीमा ३०० जना संक्रमित इस्गलसँग सम्बन्धित रहेका छन् । जसमध्ये ८० जना ह्यामबर्ग र २ सयजना आलेनका रहेका छन् । नर्वेमा पनि मार्च २० सम्मा १ सय ७४२ मध्ये ८६२ जना संक्रमित बाहिरबाट आएका थिए । तीमध्ये ५४९ जना अस्ट्रियासँग सम्बन्धित रहेका छन् ।

अस्ट्रियाको सरकारले मार्च १३ मा इस्गललाई पूर्ण क्वारेन्टाइनमा राखेको थियो । पाँच दिनपछि यसलाई थप बढाउँदै टाइरोलका २७९ समुदायलाई सेल्फ आइसोलेसनमा जान आग्रह गरेका थिए ।

लारफेल्डट र उनका साथी अहिले स्वस्थ बनिसकेका छन् । तर, युरोप भरमा ठ्याक्कै कति जना इस्गलका स्की पर्यटकहरुबाट संक्रमित भन्ने यकिन गर्न गाह्रो भएको क्रिस्टिएन्सन बताउँछन् ।

स्रोत : सीएनएन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!