हिपमत डटकम

शनिबार, चैत्र ०३, २०८० || 3483  पटक पढिएको

विराटनगर । मोरङको रंगेलीमा शनिबार आगलागी हुँदा २० घर जलेका छन् । २४ परिवारको बसोबास रहेको बस्ती २ घण्टाभित्रमा खरानी भएको प्रहरीले जनाएको छ ।

सबै हिसाबले पिछडिएको सन्थाल समुदायको बसोबास रहेको बस्ती नै सखाप हुने गरी भीषण आगलागी भएको हो । प्रहरीका अनुसार अनुसार रंगेली नगरपालिका–३ बाबु सहायक टोलका जंगली मुर्मूको गाई ग्वालीबाट दिउँसो २ः३५ बजेतिर आगलागी सुरु भएको खुलेको छ ।

स्थानीय र दमकलको सहयोगमा ४ः३५ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पश्चिमबाट हावा चालेकाले आगो नियन्त्रणमा लिन समस्या भएको थियो । नियन्त्रणमा लिइसक्दा अति विपन्नको बसोबास रहेको बस्ती नै ध्वस्त भइसकेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार पीडितले घरभित्र रहेका कुनै पनि सामान निकाल्न पाएनन् । सुन चाँदी, नगद, लत्तकपडासहित सबै धनमाल जलेर ध्वस्त भएको उनले बताए । पीडितले शरीरमा लगाएका कपडा बाहेक केही बचाउन सकेनन् ।
एसपी कार्कीले घरबाट मालसामान निकाल्न खोज्दा २९ वर्षीया तलाबेटी मुर्मू जलेर सामान्य घाइते भएको जानकारी दिए । मुर्मूको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।

आगोले जंगलीसहित तल्लु, भना, धारो, जुगल, मंगल, साइला, सञ्चराम, गम्बु, सुकदेव, राम मुर्मू तथा चन्द्र, सुकल, बासुदेव, चट्टा किस्कु एवं मनोज, बुद्दराय, मराहाङ हेमराम र सुमन सतार, सुकल हस्दा, लुकु टुडू तथा बाबूलाल बेश्राको परिवारको बिचल्ली बनाइदिएको छ । पीडितको नामावली संकलन इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्दिराम चौलागाईं नेतृत्वको टोलीले गरेको हो ।

प्रहरीका अनुसार जंगली मुर्मूको कर्कट पाताको छाना भएको र सेन्ट्रीबेरा गरिएको १ तले घर तथा गाई ग्वाली थियो । उनकै ग्वालीबाट आगलागी सुरु भयो भनिएको छ । बस्तीमा प्राय एउटै प्रकृतिका र बाक्ला घर थिए । केही घरहरु इँटाको सामान्य गाह्रो लगाएर बनाइएका थिए । बाँस, सन्ठी र पराल मिलाएर सेन्ट्रीबेरा गरिएका घरबाट आगो समयमै फैलिएर नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान छ । एसपी कार्कीले अनुसन्धानपछि कारण यकिन हुने बताए । स्थानीयका अनुसार आगलागी सुरु भएको ग्वालीमाथि बिजुलीको तार लत्रिएको थियो । विद्युत प्राधिकरणको लापरबाहीले सिंगो बस्ती ध्वस्त भएको गुनासो उनीहरुले गरेका छन् ।
पीडितका अनुसार १५ दिनअघि पनि त्यही ठाउँमा विद्युत सर्ट भएर आगलागी भएको थियो । आगो स्थानीयले निभाएर तत्काल घटनाको जानकारी सम्बन्धित निकायलाई गराए । तर, लत्रिएको तारलाई व्यवस्थित गर्नेतर्फ प्राधिकरणले चासो नदिएको उनीहरुको भनाइ छ ।
घटनापछि पीडितको बास गाई फार्ममा भएको छ । सबै थोक गुमाएका पीडितलाई तत्कालका लागि नजिकैको खाली गाई फार्ममा लगेर राखिएको हो । पीडितको व्यवस्थापन र राहतका लागि स्थानीयदेखि प्रदेश सरकारसँग समन्वय भइरहेको मोरङ प्रशासनले जनाएको छ । आगलागीपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, मन्त्रालयका सचिवसहित मोरङका सुरक्षा अधिकारीले स्थलगत निरीक्षण गरेर घटनाको सबै जानकारी लिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको सक्रियतामा पीडितलाई खाद्यान्न, ओढ्ने, ओछ्याउने र खानेपानी वितरण गरिएको छ । तत्कालका लागि १ परिवारलाई २÷२ वटा ओढ्ने र ओछ्याउने कपडा तथा १० किलो चामल एवं १ काटुन पानी उपलब्ध गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । स्थानीय सरकारले पनि राहत दिएको उनको भनाइ छ ।
‘आगोले ठूलो क्षति गरेको छ । बस्ती सकिएको छ,’ भट्टराईले भने, ‘क्षतिको विवरण यकिन भइसकेको छैन । संकलन जारी छ ।’ उनले पीडितको उद्धार र राहलाई प्रभावकारी बनाइने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!