विराटनगर । पाँच लाख रूपैयाँ लिएर नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने भएको छ।

कोशी अस्पतालका पूर्व प्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डा. कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने तयारी अनुरूप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

पक्राउ परेका ६ जनालाई प्रहरीले संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने तयारी गरेको हो।

सरकारी वकिलसँग राय लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए। ‘कुन ऐन आकर्षित हुन्छ, हामी सबैतिरबाट फराकिलो बनाएर अनुसन्धान र प्रमाण (दसी) जुटाउने काम पनि अगाडि बढाएका छौं,’ एसपी पोखरेलले भने, ‘अनुसन्धान पूरा गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन तयार गरी अदालतमा मुद्दा दायर गर्नेछौं।’

प्रहरीले यस घटनामा सुरूमा दुई जना र मंगलबार थप चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवजात शिशु खरिद गर्ने, हस्पिटलका सरसफाइकर्मी, पाँच लाख रूपैयाँमा शिशु बेच्ने डा. तपेश्वरलाल कर्णका सहयोगी नर्स छन्।

थप पक्राउ पर्नेमा ग्रीनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमाया राजवंशी र ३० वर्षीय सूर्यनारायण राजवंशी, सिरहाको कल्याणपुर नगरपालिका– १२ की ३८ वर्षीया नर्स निर्मला यादव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

पक्राउ पर्नेमध्ये डा. कर्णसँग उक्त शिशु खरिद गर्ने दिलमाया र उनका छोरा सूर्यनारायण, दिदी सुधा राजवंशी र चिकित्सकका सहयोगी निर्मलालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

डा. कर्णले ग्रीनक्रस अस्पतालको अपरेसन थिएटर (ओटी) विभागमा कार्यरत सुधामार्फत शिशु बिक्री गरेको खुलेको छ। शिशु खरिद गर्ने निःसन्तान राजवंशी दम्पती सुधाका नातेदार हुन्।

विवाह भएको एक दशक बितिसक्दा पनि दिलमायाका छोरा–बुहारीको सन्तान नभएकाले शिशु खरिद गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ। शिशुलाई प्रहरीले मंगलबार भेटेर उद्धार गरेको हो।

प्रहरीले डा. कर्ण र शिशुका बाबु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबारबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

गएको असार १३ मा अविवाहित युवती फूलकुमारी नाम परिवर्तनले छोरी जन्माएपछि शिशु अस्पतालबाटै गायब पारिएको थियो। पछि युवतीले बच्चा खोजेपछि यो प्रकरण बाहिर आएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!