
विराटनगर । बलात्कारको आरोपमा युवा संघ नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन् । मोरङको बेलबारी नगरपालिका–१० घर भएका ३४ वर्षीय तामाङलाई बिहीबार मोरङ प्रहरीले पक्राउ गरेको हो । उनी नेकपा (एमाले)को भातृ संगठन युवा संघका बेलबारीका अध्यक्ष हुन ।

बलात्कारको आरोपमा प्रहरीले साउन ३२ गते बिहीबार पक्राउ गरेको जनाएको छ । असार २ गते बलात्कार गरेको भन्दै २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो । तामाङ रेस्टुरेन्ट सञ्चालक पनि हुन् ।
तामाङले सञ्चालन गरेको पोललाइट रेस्टुरेन्टमा आफूलाई बलात्कार गरेको युवतीले दिएको जाहेरीमा उल्लेख छ । तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।