शनिबार, चैत्र ०८, २०७६ || 1019  पटक पढिएको

भीमदत्त नगरपालिकाले कोरोना सङ्क्रमण (कोभिड १९) को जोखिमलाई दृष्टिगत गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न सङ्घ सरकारसित अनुरोध गरेको छ । नगर कार्यपालिकाको आज बसेको ४४औँ कार्यपालिकाको आकस्मिक बैठकले गड्डाचौकी नाकाबाट फर्किनेको अत्यधिक बढेकाले केही दिनका लागि नाका बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको हो । कार्यपालिका बैठकमा भीमदत्त नगरपालिकाअन्तर्गत सबै अत्यावश्यक सेवा उपलब्ध गराउनेबाहेक सबै कार्यालय बन्द गर्ने निर्णयसमेत गरिएको छ । यसैगरी बैठकले कोरोना रोकथामका लागि स्वमय्सेवक परिचालन, कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई सहुलियत दिने, ५० श्ययाको प्री फाइभ आइसोलेशन कक्ष स्थापनाका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरेको छ । नगरपालिकाले कोरोना सङ्क्रमणबाट जोगिन सुरक्षाका उपायहरु अपनाउन र अत्यावश्यक कामबाहेक अरू समयमा घरबाहिर ननिस्कनु सबै नगरवासीलाई आग्रह गरेको छ । नगर कार्यपालिकाका नगर प्रवक्ता हिमालबहादुर चन्दले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको कार्यपालिकाको आकस्मिक बैठक बसेर नाका बन्द गर्न सङ्घ सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको जानकारी दिनुभयो । “कोरोनाको सङ्क्रमण जोखिम बढ्दै गएको, नाकामा आउनेका भीड थामिनसक्नु छ । यस्तो अवस्थामा जोखिमको धेरै सम्भावना छ”, नगर प्रवक्ता चन्दले भन्नुभयो, “त्यसकारण कार्यपालिका बैठकले नाका बन्दका लागि सङ्घ सरकारसित अनुरोध गर्ने निर्णय गरेको हो ।” नगरप्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकमा कोरोना रोकथामका लागि हालसम्म गरिएका प्रयास, समस्या र चुनौती सम्बन्धित समेत छलफल गरिएको छ । नगरप्रमुख विष्टले कोरोना सङ्क्रमणको जोखिम रोकथाम र पूर्वतयारीका लागि नगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रशासन कार्यालयले शनिबार बिहानदेखि पश्चिमी सीमा नाका गड्डाचौकीबाहेक अन्य सबै नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले कोरोना सङ्क्रमण रोकथामका लागि गड्डाचौकी नाकामा सहायता कक्ष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । यसैगरी कोरोना बिरामीका लागि आइसिएचको एक सय श्ययाको भवनलाई क्वारेन्टाइन बनाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!