
पत्नीको हत्या गर्ने पक्राउ राजविराज । सप्तरीको महदेवा गाउँपालिकामा पत्नीको हत्या गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै पत्नीको हत्या आरोपमा ३५ बर्षीय रामरुप खंगलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महादेवा गाउँपालिका वडा नम्बर २ अकबरपुर निवासी खंगलाई ३० वर्षीया पार्वती देवी खंगलाई कुटपिट गरी हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।

घरायसी विवादमा रामरुपले कुटपिट गरेपछि गम्भीर घाइते भएकी पार्वतीको उपचारका क्रममा राजविराजस्थित अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । आईतबार राति भएको यो घट्नापछि प्रहरीले रामरुपलाई नियन्त्रणमा लिएको छ । रामरुपले पत्नीलाई कुटपिट गरिरहँदा बचाउन गएकी उनकी आमा ६१ वर्षीया समतोलिया खंग घाइते भएकी छन् । उनको राजविराजमा उपचार भइरहेको छ । घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।