सदरमुकाम कुश्मा बजारमा सञ्चालित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्यापनरत प्राध्यापक र कर्मचारीले क्याम्पस प्रशासनमा ताला लगाएका छन् । नौ महिनादेखि तलब नपाएको र क्याम्पस प्रशासनले विनियमअनुसार सञ्चालन नभई प्राध्यापकका सेवासुविधामा विभेद् गरेको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् । क्याम्पसमा अध्यापनरत २२ प्राध्यापक र पाँच कर्मचारी आन्दोलित बनेका हुन् । नौ महिनासम्म तलब नपाउँदा पनि क्याम्पस प्रशासन र सञ्चालक समिति गैरजिम्मेबार बन्दै गएको उनीहरुको आरोप छ । सोसँगै क्याम्पसमा छोटो अवधिसम्म अध्यापनरत प्राध्यापकलाई दिने सुविधा र २० वर्षसम्म अध्यापनरत प्राध्यापकलाई दिने सुविधामासमेत विभेद् भएको आन्दोलित प्राध्यापक तथा कर्मचारीले आरोप लगाएका छन् । तालबन्दीपछि क्याम्पसका सम्पूर्ण प्रशासनिक कार्य प्रभावित बनेका छन् । तालाबन्दी गरे पनि प्राध्यापकले अध्यापन भने रोकेका छैनन् । “हाम्रा समस्याका कारण विद्यार्थीको भविष्य बिगार्ने काम गर्दैनौँ”, एक प्राध्यापकले भन्नुभयो, “क्याम्पस प्रशासन र सञ्चालक समितिले माग सुनुवाइ नगरेसम्म हामी क्याम्पस प्रशासनलाई सञ्चालन गर्न दिँदैनौँ ।” उहाँले लामो समयसम्म समस्या दर्शाउँदा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको गुनासो गर्नुभयो । यता क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीले भने क्याम्पसमा अध्यापनरत प्राध्यापक र कर्मचारीको समस्या समाधानका लागि प्रयास भइरहेको बताउनुभयो । “विद्यार्थीको सङ्ख्या घटेसँगै क्याम्पस सञ्चालनमा कठिनाइ भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्य सहयोगी निकायबाट समेत क्याम्पसलाई सहयोग आउन नसक्दा प्राध्यापक कर्मचारीको तलब दिन सकेका छैनौँ ।” उहाँले नगरपालिकालगायत सहयोगी निकायबाट बेवास्ता भएकाले समस्या उत्पन्न भएको बताउनुभयो । स्नातक तहसम्म अध्ययन हुने क्याम्पसमा अहिले २४० विद्यार्थी अध्ययनरत छन् ।