हिपमत डटकम

बुधबार, चैत्र ०८, २०७९ || 14189  पटक पढिएको

मनाङ । हिउँद सकिएसँगै हिमाली जिल्ला मनाङमा पूर्वाधार निर्माणका कार्य गर्न थालिएको छ । चिसो बढेसँगै रोकिएका विकास निर्माणका कार्य थालिएको पूर्वाधार कार्यालयले जनाएको छ ।

हिउँदमा हिमपात कम भएपनि अत्यधिक चिसोका कारण रोकिएका विकास निर्माणका काम अहिले सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले जानकारी दिए । चिसोका कारण गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएका भौतिक संरचना निर्माणका कार्य रोकिएका थिए ।

विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायतका विकास निर्माणका कार्य रोकिएकामा अहिले कामले निरन्तरता पाएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले बताए । “चिसोका कारण रोकिएका कामले निरन्तरता पाएको छ, हिमपात कम भएपनि चिसोले रोकिएका काम अहिले निरन्तर भइरहेको छ, सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही कार्य निर्माण भइरहेको थियो, तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य पूर्ण रुपमा ठप्प थियो”, उनले भने ।

जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम भइरहेको प्रमुख इन्जिनियर विष्टले बताए । “हिउँदमा चिसोले माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न सकिँदैन, अहिले सुरुआत भएको छ, यहाँको काम वर्षमा जम्माजम्मी तीन महिना मात्रै गर्न पाइन्छ”, विष्टले भने ।

सडक निर्माणको कामअन्तर्गत रिटर्निङ वाल लगाउने, नाला निर्माण, सडक सम्याउने लगायतका कार्य भइरहेको उनले बताए । चिसोले रोकिएका काम अहिले वर्षायाम सुरु हुनु अगावै केही सहज बनाउने उद्देश्यले तीव्रताका साथ काम भइरहेको उनले बताए ।

मनाङको मेरुदण्डका रुपमा रहेको चामे–बेँसीसहर सडक खण्डको निर्माण कार्य पनि मौसम अनुकूल भएपछि कामले तीव्रता पाएको उनले बताए । उक्त सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ । यहाँको सहज यातायातका लागि सरकारले विशेष रुपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ ।

सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ÷छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । डुम्रे–बेँसीसहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन सङ्घ सरकारले रु ६० करोड विनियोजन गरेको छ ।

आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनाअनुसार बजेट विनियोजन भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!