मंगलबार, चैत्र ०४, २०७६ || 789  पटक पढिएको

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण फैलिएपछि नेपालबाट दुवैतर्फी उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले आफ्नो उडानमा कटौती गरेका हुन् । पछिल्ला दिनमा दिनहँुजसो अन्तर्राष्ट्रिय उडानमा कटौती भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार विमानस्थलमा सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ दैनिक ४५ देखि ५० उडान हुने गरेकामा आज २९ वटा मात्रै उडान भएका छन् । सोमबार ३० वटा अन्तर्राष्ट्रिय उडान भएको थियो । विमानस्थलबाट दुवैतर्फी उडान र अवतरण गर्दा दैनिक सरदर ९५ देखि ९० अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । कोरोनाको प्रभावले हवाई यात्रु घटेपछि हवाई कम्पनीले पनि उडान क्रमशः कटौती गर्न थालेका हुन् । यात्रु कम भएपछि वायु सेवा प्रदायकले धमाधम उडान कटौती गर्न थालेको महाप्रबन्धक केसीको भनाइ छ । उहाँले भन्नुभयो, “दुई दिनयता अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । अझै केही दिन यही प्रक्रिया जारी रहने अवस्था छ ।” विमानस्थलका अनुसार एयर इण्डियाले पहिला दैनिक चार उडान भर्दै आएकामा अहिले एउटा मात्रै उडान भर्दै आएको छ । कतार एयरवेजले दैनिक चार उडान भर्दै आएकोमा अहिले दुई वटा मात्र उडान गरिरहेको छ । ड्रागन एयरले काठमाडौँ उडान स्थगन गरिसकेको छ । साताको चार उडान भर्दै आएको कोरियन एयरले एउटा मात्र उडान भर्दै आएको छ । विमानस्थलबाट अहिले तीन नेपालीसहित ३० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । हालको अवस्थामा नेपाल आउने मात्र नभई नेपालबाट अन्य गन्तव्यमा उडान भर्ने वायुसेवा प्रदायकले पनि धमाधम उडान कटौती गरिरहेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई गन्तव्यको उडान स्थगन गरेको छ भने नेपालबाट चीनमा उडान गर्दै आएको निजी लगानीको हिमालय एयरलाइन्सले चीनका चार गन्तव्यमा सातामा १५ उडान भर्दै आएकामा अहिले सबै बन्द गरेको छ । त्यस्तै हिमालयले दुबई र साउदी अरब गन्तव्यको पनि हाललाई अर्को सूचना जारी नभएसम्म उडान स्थगन गर्ने निर्णय गरेको छ । उता चीनबाट नेपाल उडान भर्ने सबै पाँच वायुसेवा प्रदायकले पनि काठमाडौँ विमानस्थलको उडानमा भारी कटौती गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चीन गन्तव्यमा मात्रै पहिला यही याममा सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० वटामात्र उडान भइरहेको छ । चीनबाट नेपाल उडान भर्ने एयर चाइनाले सातामा १४ उडान भर्दै आएकामा अहिले सातामा जम्मा एक उडान गरिरहेको छ । चाइना साउदर्न एयरको सातामा १४ उडान रहेकामा अहिले सातामा दुई मात्रै उडान भइरहेको छ । चाइना इस्टर्नको सातामा ११ उडान थियो भने अहिले सातवटा उडान छ । त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान भर्दै आएको तिब्बत एयरलाइन्सले पनि अहिले सबै उडान स्थगन गरेको छ । पहिला अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले करिब पाँच हजार मात्रै यात्रु आगमन भइरहेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!