सोमबार, चैत्र ०३, २०७६ || 580  पटक पढिएको

कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी भएका बेला खाद्यान्न, ग्यास, पेट्रोलियम पदार्थ र औषधिको सहज आपूर्ति गर्नु सबैको कर्तव्य भएको सरोकारवालाले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आज आयोजित कोभिड–१९ को सङ्क्रमणका समयमा आवश्यक सामग्रीको कृत्रिम अभाव सम्बन्धी गुनासो, नियमन र आपूर्तिमा सहज सुनिश्चित गर्न आयोजित छलफलमा सहभागीले तेल, चामल, औषधिलगायतका वस्तुमा भएको मूल्य वृद्धिका सम्बन्धमा राज्यले अनुगमन कार्यलाई तीव्रता दिई सहज उपलब्धताको सुनिश्चिता गर्नुपर्नेमा जोड दिनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले कोभिड–१९ को सङ्क्रमणमा राज्यले खाद्य, औषधिलगायतका कुनै पनि सामग्रीको अभाव सिर्जना हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै भारत सरकारका आफ्ना समकक्षीसँग हालै भएको भेटघाटमा नेपालमा सबै आवश्यक सामग्री आपूर्तिमा सहज व्यवस्था गरिने आश्वासन पाइएको जानकारी गराउनुभयो । उहाँले सरकारले यो रोगविरुद्ध पहिलो दिनदेखि नै पूर्व तयारी गरेको र विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन राजदूतावासमार्फत सम्पर्कमा रहेको जानकारी दिँदै नेपालको खाद्यान्न तीनदेखि छ महिनासम्मका लागि मौज्दात रहेको बताउनुभयो । उहाँले सरकारले मास्क र सेनेटाइजरको व्यवस्था गर्ने तयारी गरेको उल्लेख गर्दै उद्योगी, व्यापारीलाई सुपथ मूल्यमा सामग्री उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले सरकारले आवश्यक सामग्रीको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी गर्ने व्यापारीलाई रु नौ लाखदेखि रु १८ लाखसम्म जरिवाना गरेको जानकारी गराउनुभयो । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले प्रदेश सरकारले आवश्यक सामग्रीको सहज आपूर्तिका लागि उचित व्यवस्थापनको कार्य शुरु गरेको जानकारी गराउँदै विराटनगर, चन्द्रगढी, सोलुखुम्बु विमानस्थलमा हेल्थ डेस्कको स्थापना गरिएको बताउनुभयो । उहाँले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन उच्च सर्तकता अपनाउँदै कोशी, नोवेल बिएमसी, मेची, बिपी र विराट अस्पतालमा आइसुलेसन वार्डको व्यवस्था गर्नाका साथै शङ्कास्पद बिरामीलाई राख्न एक हजार बिरामीको बसोबासका लागि क्वरेन्टाइन उपलब्ध रहेको जानकारी गराउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नागरिकलाई भारत आवतजावतमा कुनै रोक नभएको र तेस्रो देशका नागरिकलाई मात्र रोक लगाइएको भन्दै शङ्कास्पद बिरामीको आवश्यक उपचारका लागि गन्तव्यसम्म पु¥याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको बताउनुभयो । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले सीमामा उचित अनुगमनमा जोड दिँदै छोटी सीमा नाकामा हेल्थ डेस्कको व्यवस्था गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत एकराज अधिकारीले विराटनगर विमानस्थल र भारतीय सीमा क्षेत्रमा प्रदेश अस्पताल कोशीको समन्वयमा हेल्थ डेस्क राखिएको जानकारी गराउनुभयो । नेपाल आयाल निगम प्रदेश कार्यालयका निमित्त प्रमुुख चितरञ्जन दासले एक हप्तालाई पुुग्ने पेट्रोलियम पदार्थमध्ये ३१६ किलोलिटर पेट्रोल, छ हजार ३१० किलोलिटर डिजेल र ६३२ किलोलिटर मट्टितल रहेको जानकारी दिँदै दैनिक ३०० किलोलिटर पेट्रोल, ८०० किलोलिटर डिजेल बिक्री वितरण हुने गरेको बताउनुभयो । उहाँले मोरङ र सुनसरीका पाँच ग्यास बोटलिङ प्लान्ट कोशी, सुविधा, प्रिमा, रिजाल, सुगमबाट गत फागुन २५ गतेदेखि यही चैत २ गतेसम्म लागि एक लाख ३२ हजार ५०० सिलिण्डर एलपी ग्यास वितरण गरिएको जानकारी जानकारी गराउनुभयो । साल्डट्रेडिङ कार्यालयका प्रमुुख राधेश्याम चौधरीले आगामी १० महिनासम्मको आपूर्तिका लागि तीन लाख ३३ हजार बोरा नून तथा दुई लाख ७५ हजार बोरा रासायनिक मल भण्डारण गरिएको बताउनुुभयो । कोशी अस्पतालका मेडिकल सुुपरिटेण्डेन डा सङ्गत मिश्राले कोरोना भाइरस रोकथामका लागि आजदेखि अस्पतालले छुुट्टै फिवर क्लिनिक सञ्चालनमा ल्याएको र मङ्गलबारदेखि तीनवटा आइसोलेसन श्यया सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुुुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हिमालय बरालले मूल्य नियन्त्रण गर्न नियमित अनुगमन भइरहेको जानकारी दिँदै ग्यासको सहज आपूर्तिमा अनुगमन आवश्यक रहेको धारणा राख्नुभयो । औषधि व्यवस्था विभागका प्रमुख सञ्जीव कट्टेलले औषधि उद्योगमा रुखाखोकी जस्ता कोल्ड ट्यावलेट उत्पादनका लागि उद्योगसँग छ देखि आठ महिनासम्मको कच्चा पदार्थ रहेको बताउँदै औषधिका खुद्रा पसललाई आवश्यक भन्दा बढी औषधि खरिद नगर्न निर्देशन दिइएको बताउनुभयो । ग्यास डिलर मोरङका अध्यक्ष शरदराज पोखरेलले उपभोक्तालाई छ महिनाका लागि चाहिने ग्यास एक महिनामा खरिद गरेकाले अभाव सिर्जना भएको बताउँदै प्रत्येक घरमा तीन देखि छ सिलिण्डर ग्यासको भण्डारण गरिएको विचार व्यक्त गर्नुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र सङ्का पूर्व अध्यक्ष पवन शारडाले उपभोक्ताले भाइरसको सन्त्रासका कारण चाहिने भन्दा बढी सामग्री भण्डारण गरेकाले आपूर्तिमा असहज परिस्थिति निर्माण भएको उल्लेख गर्नुभयो । खाद्य व्यवस्था तथा व्यापार कार्यालय कोशीका प्रमुख देवेन्द्र राईले कार्यालयमा एक हजार ८०० क्वीन्टल चामलको मौज्दात रहेको र केही दिनभित्र नै १० हजार क्वीन्टल चामल खरिद गर्ने जानकारी गराउनुभयो । पत्रकार मोहन भण्डारी उपभोक्ता, अभियानकर्मी कृष्णप्रसाद भण्डारी, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेल, महेश लोहनीले आवश्यक खाद्यान्न, औषधिलगायतका सामग्रीको सहज आपूर्ति गरी मौज्दात सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै कोभिड–१९ सम्बन्धमा सही सूचना सर्वसाधारणलाई पस्कन एकीकृत सूचना डेस्कको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!