कोरोनाभाइरसको संक्रमणको त्राससँगै सरकार र निजी क्षेत्रले सुरक्षा एवं सतर्कताका लागि विभिन्न अभियान शुरु गरेका छन् ।
बुटवलको पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफु मातहत रहेका विभिन्न स्थानका टिकट काउण्टरहरुमा यात्रुहरुको शरीरको तापक्रम (ज्वरो) मापन गरेरमात्र टिकट काट्ने भएको अभियान शुरु गरेको छ ।
प्रालिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरि आफु मातहत सेवा सञ्चालनमा रहेका सडक खण्डहरुका टिकट बुकिङ काउण्टरहरु बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा उपकरणबाट यात्रुहरुको तापक्रम मापन गर्ने व्यवस्था गरेको जानकारी दिएको हो।
प्रालिका अध्यक्ष दधिराम खरेलले कोरोनाभाईरसको संक्रमणको त्रासको कारण सरकारले बढी भिडभाड हुने कार्यक्रम नगर्न र भिडभाडमा नजान आग्रह गरिहँदा यसको प्रभाव यातायात क्षेत्रमा समेत परे पनि पहिलो काम यात्रुहरुको सुरक्षा गर्नु रहेकोेले ज्वरो मापन गरेरमात्र टिकट काट्ने व्यवस्था गरिएको बताए ।
उनका अनुसार सबै काउण्टरमा उपकरण ल्याईएको र आफ्नै कर्मचारीमार्फत तापक्रम मापन गरि उनिहरुको अवस्था जानकारी गराउने व्यवस्था गरिएको छ ।
यात्रुको संख्या आघा घट्यो
कोरोनाभाइरसको संक्रमणको त्राससँगै सार्वजनिक यातायातमा यात्रुहरुको संख्या पनि घटेको छ । संघका अध्यक्ष खरेलले अहिले यात्रुको संख्या आधाजसो कमी आएको बताए ।
उनले सार्वजनिक सवारीका साधनमा यात्रुको सुरक्षाको व्यवस्थामा ध्यान दिने गरिएको भए पनि कोरोनाको त्रासले यात्रुहरुको संख्या घट्दै गएको बताए । यात्रुहरुलाई तनावमुक्त वातावरणमा ओसारपसार गर्नका लागि संघले विभिन्न अभियान चलाउने उनको भनाइ थियो ।