हिपमत डटकम

बुधबार, मंसिर १४, २०७९ || 17306  पटक पढिएको

मङ्सिर १४ गते । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै परिवारका सदस्य तथा आफन्तहरू पनि विजयी भएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित जुली महतो सोही पार्टीका सचिव रघुवीर महासेठकी श्रीमती हुनुहुन्छ । महासेठ पनि धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । महतो पहिलो पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ यसअघि दुई पटक पार्टीका तर्फबाट समानुपातिक सांसद हुनुहुन्थ्यो ।

धनुषामा २०४३ सालमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट हेमबहादुर मल्ल र उहाँकी श्रमती पनि विजयी हुनुभएको थियो । त्यतिखेर लोकप्रिय मत ल्याएर निर्वाचित हुनुभएका मल्ल दम्पतीसँग अहिले रघुवीरका दम्पतीलाई दाँज्ने गरिएको छ ।

सिराहा क्षेत्र नं. ४ बाट निर्वाचित डा. वीरेन्द्र महतो पनि जुलीका दाइ हुनुहुन्छ । उहाँ जनता समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ निर्वाचित हुनुअघि माछापुच्छे« बैङ्क सञ्चालक समितिको अध्यक्ष हुनुहुन्थ्यो । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै उहाँले बैङ्क अध्यक्षबाट राजीनामा दिनुभएको छ । बैङ्क सञ्चालक समितिको अध्यक्षमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा वीरेन्द्रकै दाइ डा. उपेन्द्र महतो नियुक्त हुनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र उहाँका ससुराबुबा लालवीर चौधरी पनि यस पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । लालवीर टीकापुर हत्याकाण्डमा जेल सजाय भुक्तान गरिरहनुभएका रेशम चौधरीका बुवा हुनुहुन्छ भने रञ्जिता श्रीमती ।

उक्त पार्टीले सुरुमा रेशमलाई बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको थियो तर जेल जीवन बिताइरहेको हुनाले निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्न सक्ने अनुमानका आधारमा सोही क्षेत्रमा उन्मुक्ति पार्टीले लालवीरलाई पनि स्वतन्त्र उम्मेदवारी दिन लगाएको थियो ।

पूर्वानुमानअनुसार नै निर्वाचन आयोगले रेशमको उम्मेदवारी खारेज गरिदिएपछि उन्मुक्ति पार्टीले पूर्वयोजनाअनुसार लालवीरलाई समर्थन गर्ने निर्णय गरेको थियो । त्यस्तै रञ्जिता पनि सोही पार्टीका तर्फबाट कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टी रेशमकै अगुवाइमा खुलेको हो । ढकी चुनाव चिह्न लिएर पहिलो पटक निर्वाचनमा भाग लिएको यस पार्टीले प्रतिनिधि सभा सदस्यमा तीन स्थान तथा प्रदेश सभा सदस्यमा पाँच स्थान जितेको छ ।

पाल्पामा पनि एकै परिवारका दाजुभाइ दुई फरक जिल्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । पाल्पाको रामपुर निवासी राजुप्रसाद श्रेष्ठ पाल्पा १ (क)बाट पहिलो पटक निर्वाचित हुनुभएको छ । उहाँका साहिँलो दाजु भोजप्रसाद श्रेष्ठ रुपन्देही २ (ख)बाट प्रदेश सभा सदस्यमा दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

चार भाइमध्ये श्रेष्ठ परिवारमा भोजप्रसाद साइँलो र राजु कान्छो हुनुहुन्छ । भोजप्रसाद र राजु दुवैको जन्म पाल्पाको रामपुरमा भएको हो । २०४४ सालमा दाजु भोजप्रसाद बुटवलमा बसाइँ सर्नुभएको थियो । त्यसपछि भोजप्रसाद २०४६÷४७ सालको जनआन्दोलनदेखि नै बुटवलको राजनीतिमा सक्रिय रहनुभएको भाइ राजुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!