हिपमत डटकम

बिहिबार, मंसिर ०१, २०७९ || 674  पटक पढिएको

विराटनगर। प्रदेश–१ को सबैभन्दा चर्चाको क्षेत्र हो मोरङ–६ । मोरङ क्षेत्र नम्बर ६ सबैको चासो र चर्चाको विषय हुनुको एउटै कारण हो नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिका प्रत्यासी डा. शेखर कोइराला लोकतान्त्रिक–बामगठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनु ।

शान्ति प्रक्रियादेखि राष्ट्रिय राजनीतिमा चर्चामा रहेका कारणले पनि देशले नै मोरङ–६ को निर्वाचनलाई नजिकबाट हेरिरहेको छ । निर्वाचन नजिकिएसँगै डा. कोइरालाको पक्षमा जनमत पनि बढ्दै गएको छ । हरेक क्षेत्रका व्यक्तिले राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाउन कोइरालाको जित अपरिहार्य रहेको प्रतिक्रिया दिएका छन् ।

विराटनगरको प्राज्ञिक वर्गले कोइरालाले जिते विराटनगरको गुमेको शाख फर्किने दाबी गर्छ । हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले विराटनगर दोस्रो सहरबाट छैटौं–सातौंमा पुगिसकेको बताए । उनले विराटनगरलाई पहिलेकै अवस्थामा फर्काउन कोइरालाको जित आवश्यक रहेको औंल्याए । “विगतमा विराटनगरले आज सोच्ने देशले भोलि सोच्छ भनिन्थ्यो,” उनले भने, “तर हिजोको विराटनगर आज कहाँ गयो ? राष्ट्रिय राजनीतिमा सशक्त उपस्थिति अभावले दिन प्रतिदिन विराटनगर धेरै नै पछि परिसकेको छ ।”

राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने तागत डा. कोइरालामा देखिएको प्रा.डा. पीके झा बताउँछन् । “मलाई लाग्छ यो कुरा आममतदाताले बुझिसकेका छन् । यसपटक शेखरलाई अत्यधिक मतले जिताउनेछन्,” झाको भनाइ थियो, “आर्थिक, सामाजिक र राजनैतिक रुपमा विराटनगरलाई अझ भनौ प्रदेश–१ लाई अगाडि बढाउन उहाँले जित्नुपर्छ भन्ने मेरो विचार छ ।”

उनका अनुसार यो क्षेत्रका उद्योगी व्यवसायीसमेत अहिले निराश छन् । उद्योगी व्यवसायीहरूका माग सरकारले सुन्दैन । शेखर कोइराला नेतृत्वमा पुगे यो क्षेत्रका समस्या सम्बोधन हुने उनको दाबी छ । पोखरेल र झाको विचारमा डा. सन्देशदास श्रेष्ठ, डा. उद्धव पोखरेल, शैलेन्द्र सिवाकोटी र डा. टुनराज भट्टराई पनि सहमत छन् । अन्य प्रतिस्पर्धीसँग कोइरालाको तुलना नै नहुने उनीहरूको विचार छ । “जितेर गए भोलिका दिनमा बजेट ल्याउनेदेखि विराटनगरलाई अगाडि बढाउन उहाँले अहम भूमिका खेल्नुहुनेछ,” लामो समयदेखि प्राध्यापन पेशामा संलग्न डा. उद्धव पोखरेल भन्छन्, “मलाई लाग्छ यो पटक डाक्टर साबले जित्ने मात्रै होइन अत्यधिक मतले जित्नुहुनेछ ।”

बुधबार गछियाको चुनावीसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेखर कोइरालालाई शान्ति सम्झौताका नायक भएको चर्चा गरेका थिए । “प्रचण्डको त्यो अभिव्यक्तिबाटै प्रस्ट हुन्छ कि शेखर दाइको राष्ट्रिय राजनीतिमा कस्तो भूमिका छ भन्ने,” प्रा.डा. भट्टराईले भने ।

विराटनगरको प्राज्ञिक जगतले पनि शेखरको जित जरुरी रहेको औंल्याएको छ । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीले गिरिजाप्रसाद कोइरालापछि सबैभन्दा खट्ने, जनता र कार्यकर्ताको माझ पुग्ने नेताका रुपमा कोइरालाले छवि बनाएको बताए । “चिया पसल र चोकहरूमा अहिले शेखरजीको मात्रै चर्चा हुने गरेको छ,” सुवेदीले भने, “यो भनेकै यस क्षेत्रका जनताका लागि शेखरजी आशा र भरोसाका रुपमा स्थापित हुनु भएको प्रस्ट हुन्छ ।” अहिलेको राजनीति धनवाद र डनवादतर्फ उन्मुख भइरहेको बताउँदै त्यसलाई सही बाटोमा ल्याउन कोइरालाजस्ता व्यक्ति आउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!