हिपमत डटकम

बुधबार, कार्तिक ३०, २०७९ || 9940  पटक पढिएको

विराटनगर। मोरङको मृगौलियाका सुनिल खत्री गत शनिबार घर आइपुगे । उनी डेढ वर्ष अघि मात्रै घर आएका थिए । कम्पनीको नियमअनुसार आउँदा उनी जेठमा मात्रै घर आउन पाउँथे । तर, उनले कम्पनीलाई आग्रह गरेर अगाडि नै घर आए । कम्पनीलाई अनुनयविनय गरेर आउनुको एउटै कारण हो– निर्वाचनमा शेखरलाई भोट हाल्नु । मोरङ क्षेत्र नम्बर ६ का लोकतान्त्रिक–बाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेखर कोइरालासित उनको दोहोरो चिनजान पनि छैन । शेखरप्रति प्रभावित हुनुको एउटै कारण हो गत निर्वाचनमा शेरबहादुर देउवालाई टक्कर दिनु । खत्री नेपालमा रहँदा नेविसंघमा केही समय सक्रिय भए । घरको आर्थिक अवस्थाले उनलाई राजनीतिबाट वैदेशिक रोजगारीमा लखेट्यो ।

“शेखर कोइरालाजस्तो स्पष्ट वक्ता र आँटिलो नेता हाम्रो क्षेत्रले पाएको छ, त्यही भएर भोट लगाउन आएको हुँ,” उनल भने, “म गठबन्धनकै उम्मेदवारहरूलाई भोट हाल्छु ।”

खत्रीजस्तै बूढीगंगा–३ का रमेश दाहाल पनि शेखरलाई भोट हाल्न भन्दै विदेशबाट आइपुगेका छन् । उनी सोमबार आइपुगेका हुन् । दाहालले कोइरालाका तीन वटा चुनावीसभामा उपस्थिति जनाइसकेका छन् । अघिल्लो पटक बिरामी परेका कारण निर्वाचनमा आउन पाएका थिएनन् । दाहाल विगत ११ वर्षदेखि कुवेतमा बस्दै आएका छन् । यो निर्वाचनमा शेखरसहित राम्रा नेताले जित्नै पर्ने बताउँछन् । “एक भोटले पनि हारजित हुने भएकाले छुट्टी मिलाएर आएको हुँ,” उनले भने, “कांग्रेसभित्र शेखर दाइ मलाई मन पर्ने नेता हुनुहुन्छ ।” व्यक्ति र पार्टीभन्दा पनि राम्रा नेताले चुनावमा जित्नुपर्ने उनको धारणा छ । सुपरमार्केटमा काम गर्ने दाहाल नेपालमा प्रचुर सम्भावना रहेको बताउँछन् । नेतृत्व मात्रै सही हुने हो भने देश बन्न समय नलाग्ने दाहालको भनाइ छ । अहिलेको सबै पार्टीका नेतृत्वले विश्राम लिएर अन्यलाई अवसर दिनुपर्ने दाहालले बताए । देशको विकास भएर धेरैभन्दा धेरै रोजगारी सिर्जना युवाहरूले अवसर पाउने थिए भन्ने उनलाई लाग्छ ।

दाहाल र खत्री जस्तै भारतको गुजरातमा धागो कारखानामा काम गर्ने नारायण श्रेष्ठ पनि भोट हाल्नकै लागि आएका छन् । उनी आइतबार घर आइपुगेका हुन् । विराटनगर–५ का श्रेष्ठ यसपटक शेखरलाई भोट हाल्नकै लागि आएको बताउँछन । अघिल्लो पटक लालबाबुलाई भोट हालेका श्रेष्ठ यसपटक विगतको गल्ती नगर्ने निर्णयमा पुगेका छन् ।

सुन्दरहरैंचाका सुस्मिता अधिकारी पनि शेखरलाई भोट हाल्नकै लागि आएको बताउँछिन् । उनी ४ वर्षदेखि पोर्चुगलमा बस्दै आएकी छिन् । बुधबार गछियामा आयोजित चुनावी सभामा भेटिएकी अधिकारीले शेखरले लगाएको गुन दिन आएको बताइन् । अधिकारीका अनुसार आमा गम्भीर बिरामी भएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्दा डाक्टरलाई भन्नेदेखि उपचारमा छुटसम्म कोइरालाले भन्दिएका थिए । त्यही गुन तिर्न भन्दै उनी मंगलबार साँझ घर आइपुगेकी हुन् । “शेखर दाइसित पहिलादेखि नै चिनजान थियो, एकपटक आमा बिरामी हुँदा फोन गरें उहाँले तत्कालै डाक्टरलाई पनि भन्दिनु भयो र उपचारमा लागेको खर्चमा पनि छुट गराइदिनु भयो,” अधिकारी भन्छिन्, “गुन भनेको सधैं कसैलाई लगाउन सकिँदैन । उहाँले मलाई त्यतिबेला ठूलो गुन लगाउनु भएको थियो त्यही तिर्न छुट्टी मिलाएर आएको हुँ । यसपटक शेखर दाइलाई जसरी पनि जिताउने हो ।”

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ–६ (क) मा गठबन्धनबाट जीवन आचार्य र (ख) मा केदार कार्की उम्मेदवार बनेका छन् । गठबन्धनले चुनावी प्रचारलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!