उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ र २ को जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माण गर्ने क्षेत्रमा रहेका रुख कटान गरिएको छ । उदयपुरबासी आम जनताको बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि अनेक प्रकारका कानुनी झञ्झटहरु पार गरी अब भने बल्ल रुख कटान गर्ने कार्य सम्पन्न गरिएको हो ।
वन तथा भू–संरक्षण विभाग र नेपाल नागरिक उडड्यन प्राधिकरणबीच सगरमाथा आन्तरिक विमानस्थलको भौतिक पूर्वाधारहरु निर्माण गर्न वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने भनी २०७८ माघ २४ गते सम्झौता सम्पन्न भएअनुसार नागरिक उडड्यन प्राधिकरणले रुख कटानको लागि आह्वान गरेको बोलपत्र स्वीकृत भएपछि निर्माण व्यवसायीले सो क्षेत्रमा रहेका रुख कटान गरेका हुन् ।
राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरी काम अगाडि बढाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सगरमाथा विमानस्थल निर्माण गर्ने आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचिमा राखेर काम अघि बढाएपछि निर्माण क्षेत्रभित्रका रुखहर काटिएको हो ।
सम्झौतामा विमानस्थल निर्माणका लागि वन क्षेत्रमा छुट्याइएको १५६ दशमलब ११ हेक्टर क्षेत्रफल मध्ये १०५ दशमलब १० हेक्टर क्षेत्रफलमा रहेका रुखहरु मात्र काटिएको र बाँकी रहेको ५० दशमलब ४१ हेक्टर क्षेत्रफलमा रहेका रुखहरु कटान नगरी यथास्थितिमा हरियाली कायम राख्नुपर्ने उल्लेख गरिएको छ ।
सो अनुसार नागरिक उडड्यन प्राधिकरणले विमानस्थल निर्माण गरिने क्षेत्रको मोतियाही सामुदायिक वन उपभोक्ता समूहको ६२.३० हेक्टरको चारहजार ३५७ वटा र कङ सामुदायिक वन उपभोक्ता समूहको ४२.८० हेक्टर क्षेत्रमा रहेको विभिन्न जातको नौहजार २८० वटा गरी १३ हजार ६३७ वटा रुख कटान गर्न ठेक्का आब्हान गरेपछि मङ्गलबारसम्म करिव ७० प्रतिशत सखुवाका रुख कटान गरिएको व्यवसायी खिलाराज पोखरेलले बताउनुभयो ।
“एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड” निर्माण गर्ने नेपाल सरकारको पूर्वघोषित नीति अनुसार नै उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ र २ को जोगिदहमा एटिआर ७२ डिजाइनको जेटस्टिम एप्रो विमान उडान र अवतरण गर्नसक्ने क्षमताको विमानस्थल बनाउन लागिएको नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।
यहाँ एकहजार ७५० मिटर लामो र ३० मिटर चौडाई भएको धावनमार्ग, दुईसय मिटर लामो र ६० मिटर चौडाईको एप्रोनसहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सी गुड्ने दुईवटा सडकसमेतको लागि १५६.११ हेक्टर वन क्षेत्रको जग्गा अधिग्रहण गरिएको छ । अब रुख कटानसँगै विमानस्थल निर्माणको कामले गति लिएको सगरमाथा विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रकुमार बस्नेतले बताउनुभयो ।