हिपमत डटकम

मंगलबार, कार्तिक २९, २०७९ || 391  पटक पढिएको

महेन्द्रनगर, कात्तिक २९ गते । कञ्चनपुरको क्षेत्र नं. १ मा पूर्व सङ्घीय खानेपानीमन्त्री तथा नेकपा (माओवादी केन्द्र)की नेत्री बिना मगर र सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपा (एमाले) कञ्चनपुरका पूर्वअध्यक्ष तारा लामा तामाङबीच रोचक प्रतिस्पर्धा हुने भएको छ ।

२०५६ सालमा अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति सुरु गर्नुभएकी नेत्री मगर तेस्रो पटक यस क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । २०७० को संविधान सभा निर्वाचनमा मगरलाई हाल गठबन्धनबाट प्रदेश सभा सदस्य उम्मेदवार रहनुभएका कांग्रेस नेता दिवान विष्टले पराजित गर्नुभएको थियो । विष्ट १० हजार २९४ मतसहित संविधान सभा सदस्य निर्वाचित हुँदा मगरले नौ हजार २३६ मत प्राप्त गर्नुभएको थियो । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएकी मगरले विष्टलाई नै पराजित गर्नुभएको थियो । मगरले ३८ हजार ४७६ मत र विष्टले १९ हजार २१९ मत पाउनुभएको थियो ।

२०७४ सालमा क्षेत्र नम्बर १ (क)मा वाम गठबन्धनबाट प्रदेश सभा सदस्यमा चुनाव लड्नुभएका उहाँ २० हजार १५ मत ल्याउँदै विजयी हुनुभएको थियो । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका गोपालसिंह गुरुङले नौ हजार २९० मत प्राप्त गर्नुभएको थियो ।

एमाले कञ्चनपुरको सचिव, अध्यक्ष र २०५४ मा गाविस अध्यक्षसमेत भइसक्नुभएका तामाङ सुदूरपश्चिम प्रदेश सभामा प्रमुख सचेतकसमेत हुनुभएको थियो । कञ्चनपुर क्षेत्र नं. १ को गत स्थानीय तहको मतलाई आधार मान्ने हो भने हालको पाँचदलीय गठबन्धन नै अघि देखिन्छ । पुनर्बास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिका यो क्षेत्रमा पर्दछन् । बैलौरी नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र), पुनर्बास नगरपालिका र बेलडाँडी गाउँपालिकाको प्रमुखमा कांग्रेस विजयी भएका थिए । यस्तै लालझाडी गाउँपालिकाको अध्यक्ष भने नेकपा (एमाले)का उम्मेदवार विजयी भएका थिए ।

कञ्चनपुर–१ मा विभिन्न दलले वडामा पाएको मतका आधारमा सत्ता गठबन्धन निकै अघि छ । जसअनुसार कांग्रेसको १८ हजार ७३२, माओवादीको १२ हजार ५७२ र नेकपा (एकीकृत समाजवादी)को तीन हजार ५२१ मत रहेको छ । यस्तै एमालेको मत १८ हजार ७७३ रहेको छ । यस्तै गरेर सो क्षेत्रका ३२ वडामध्ये कांग्रेसले ११, एमालेले १०, माओवादी केन्द्रले आठ, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रले एक/एक वडामा जितेका छन् । सत्ता गठबन्धनले प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार खेम सुवेदीका कारण चुनाव जित्न अझ सजिलो हुने अनुमान गरेको छ । सुवेदी एमालेका पुराना नेता हुनुहुन्छ ।

गोरखापत्रसँगको कुराकानीमा गठबन्धनका उम्मेदवार बिना मगर आफूले उठाएका सवाल, विगतमा गरेका काम पनि आफ्नो जितको आधार भएको बताउनुहुन्छ तर एमालेका केन्द्रीय सदस्य कमला बोहरा भने गठबन्धनभित्रको असन्तुष्टि र एमाले उम्मेदवार तामाङको जनसम्पर्क राम्रो भएकाले चुनाव जित्ने दाबी गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!