हिपमत डटकम

शुक्रबार, आश्विन ०७, २०७९ || 11495  पटक पढिएको

विराटनगर। कसैको हातमा झाडु, कसैको हातमा बेल्चा, कसैको हातमा हँसिया । यो दृश्य शुक्रबार बिहान विराटनगरका विभिन्न वडाको हो । माथि उल्लेखित दृश्य महानगर सरसफाई विशेष अभियानको हो । यतिबेला विराटनगर महानगर विशेष सफाई अभियान सञ्चालन भइरहेको छ ।
महानगरको कार्यपालिका बैठकले नै हरेक शुक्रबार विराटनगरमा विशेष सफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार महानगरले हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म महानगरका विभिन्न वडाको सफाई गरिरहेको छ । महानगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा विभाजित गरेर सरसफाई अभियान चलाइरहेको छ । उत्तरी क्षेत्रको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत, मध्येको उपमेर र दक्षिणीको मेयरले नेतृत्व गर्दै आएका छन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको नेतृत्वमा वडा नम्बर ५ को सफाई गरियो । चाँदनी चोकबाट सरसफाई सुरु भएको थियो ।

सरसफाई विशेष अभियान त्रिमूर्ति चोक आसपासको समेत सफाई गरेर समापन भएको थियो । सफाई अभियानमा स्थानीयसमेत सहभागी भएका थिए । सफाईमा वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेत, २ कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपानेलगायत कार्यपालिका र नगरपरिषद् सदस्य, नगर प्रहरीका प्रमुख राजन पौडेललगायत पनि सरसफाईमा सक्रिय देखिएका थिए । “सफाई अभियानमा स्थानीयको समेत सहभागिता हुनुपर्छ ।

हामी स्थानीय जनसहभागिता गराएर महानगरको मुहार फेर्ने अभियानमा लागेका छौं,” प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, “यो एक दिन गरेर हुँदैन सधैं गर्ने काम हो ।” अभियानअन्तर्गत हरेक हप्ता बेग्ला–बेग्लै वडाको सरसफाई हुने गरेको छ । यस हप्ता उत्तरी क्षेत्रको ५ नम्बर वडाले आयोजना गरेको वडाध्यक्ष सन्तोष न्यौपानेले जानकारी गराए ।

त्यसैगरी मध्य क्षेत्रको कार्यबाहक मेयर शिल्पा निराला कार्कीको नेतृत्वमा सफाई गरिएको थियो । वडा नम्बर ६ को ब्रम्हापुर आसपासको क्षेत्रमा सरसफाई गरिएको थियो । अभियानमा वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द सहनी, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, महानगरको वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधानलगायत जनप्रतिनिधि, नगर प्रहरी, कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो । “सरसफाई विशेष अभियानपछि विराटनगर धेरै नै सफा भएको छ,” उपमेयर कार्कीले भनिन्, “ठाउँ विशेषअनुसार प्राथमिकताको क्षेत्र फरक हुन्छ, विराटनगरका लागि सरसफाई पनि प्राथमिकताको क्षेत्रभित्र पर्दछ । त्यही भएर हामीले साप्ताहिक रुपमा महानगर विशेष सफाई अभियान सञ्चालन गरेका हौं ।

” दक्षिणी क्षेत्रको सरफाई विशेष अभियानको नेतृत्व मेयर नागेश कोइरालाले गर्दै आएका छन् । गत हप्ता कोइरालाको नेतृत्वमा विराटनगर १३ तालिमकेन्द्र मोडदेखि उत्तरको सरसफाई गरिएको थियो । यसहप्ता भने मेयर कोइराला सिटी–नेटको कार्यक्रममा सहभागी हुन मलेसिया गएका कारण सो क्षेत्रका वडाध्यक्ष, सदस्य, कर्मचारी र स्थानीयको सहभागिताको सरसफाई गरिएको थियो । वडा नम्बर १६ को गौतम बुद्ध स्कुलदेखि बैंक रोडसम्म सफाई गरिएको वडा नम्बर १६ का वडाध्यक्ष उद्धव भुजेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!