तक्मा नपाएकोमा बधाई

“नरिसाउनुस् है”

शुक्रबार, आश्विन ०७, २०७९ || 34337  पटक पढिएको

तक्मा पाउने सबै बेठिक छैनन् तर, पाउने सबै ठिक व्यक्ति पनि परेनन् । संविधान दिवसको अवसर पारेर यसपटक पनि सरकारले झण्डै हजार जनालाई तक्मा दियो । तक्मा पाउनेमा अधिकांश चल्तीका नाम छन् । आफ्नो हातमा डाडू र पन्यू हुनेहरूले तक्मामा चलखेल गरेका छन् र, आलोपालो गरेर वितरण गरेका छन् ।

संविधान अपूर्ण भयो भनेर विरोध गर्नेहरूले पनि तक्मा पाएका छन् । अर्थात् संविधानलाई अस्वीकार गर्नेलाई पनि तक्मा दिइएको छ । उनीहरूले स्वीकार गरेरै होला दिइएको । तक्माका लागि काम नगर्ने बताउने मह जोडीलाई पनि तक्मा दिइएको छ । उनीहरू तक्माको ओजभन्दा धेरै माथि छन् ।सुपारी तस्करले पनि तक्मा पाएका छन् । घुसखोर, समाजमा नचिनिएका, आर्थिक अपराधमा लिप्त रहेका, अभिनन्दनको नाटक मंचन गर्ने नटवरलालहरूले पनि तक्मा पाएका छन् । ठेगाना हेर्नुभयो भने बुटबल, रुपन्देही र आसपाका क्षेत्रबाट धेरै परेका छन् । किनभने उक्त ठाउँका बालकृष्ण खाँड गृहमन्त्री छन् । स्मरण रहोस् तक्मा सिफारिस गर्ने निकाय भनेको गृह मन्त्रालय हो । आफ्नो हातमा भएपछि तक्मा जसलाई दिए पनि भैगयो नि !

पत्रकारिता क्षेत्रमै विवादास्पद छविका व्यक्तिलाई तक्मा दिइएको छ । पत्रकार आचारसंहिताको सान्दार उल्लंघन गर्ने, समाचारमा बार्गेनिङ गर्नेले पनि तक्मा पाएका छन् । टेबल मुन्तिरबाट अकुत धन आर्जन गर्नेले पनि तक्मा पाएका छन् । होइन यो तक्मा पाउँदा चै होनहार, नपाउँदा गए गुज्रेको त पक्कै हुने होइन क्यारे ! कि के हो ?विराटनगरको सामाजिक क्षेत्रमा निकै मेहनतपूर्वक काम गरेका एक युवा समाजसेवीको नाम तक्मा पाउनेमा देखिएन । किनभने उनले सिफारिस नै गराउन सकेनन् । तर, पूर्वी मोरङका दुई जनाले तक्मा पाए । उनीहरूले के काम गरेर तक्मा पाएछन् ? थाहा भएन । तर, कोरोना, बाढी पहिरोको बेलामा अहोरात्र खटिएर सामाजिक कार्य गर्ने युवा समाजसेवीको मन कुँडिएको छ । गोपाल अग्रवाललाई तक्माले न्याय गर्न सकेन । काम गर्ने मनुवा तक्माको आशा गर्दैनन् र, लोभ पनि हुँदैन । कामबाट सन्तुष्ट हुनु नै उनीहरूका लागि तक्मा हो । पैसा खुवाएर, भनसुन गराएर तक्मा पाउनेलाई लज्जाबोध पटक्कै नहुने रहेछ । गलतलाई सही देखाउन उनीहरू तक्मा भिर्न चाहन्छन् । यो क्रम अहिलेमात्र होइन पंचायतकालदेखि कै हो । पंचायतकालमा ज्यादै थोरैको सही मुल्याङ्कन हुन्थ्यो अहिले त ज्यादै थोरै मा पनि ज्यादै थोरै मुल्याङ्कन हुन थालेको छ ।

हाम्रै समाजमा पनि आमुल परिवर्तनका लागि काम गर्ने धेरै छन् । हरेक क्षेत्रमा अब्बल छन् तर, उनीहरू तक्माको हकदार हुन्नन् । तक्मा गृह मन्त्रालयको तजविज र भनसुन अनि आर्शिवादमा पाइने हो । गृहको सिफारिसमा राष्ट्रपतिले वितरण गर्ने हो । तर, तक्मा यति घटिया हुन थाल्यो पाउनेलाई बधाई भन्दा पनि नपाएकोमा बधाई दिने अवस्था आएको छ । राष्ट्रले दिने तक्माको ओज भएन । हुन त अहिलेको समाजमा कुनै असल कामको ओज, मुल्याङ्कन छैन । केही दिनअघि राष्ट्रको संचार क्षेत्रले दिने पुरस्कारलाई नै हेर्नुहोस् । यसको जमेर आलोचना भयो । अहिले संविधान दिवसमा तक्माको आतंक छ । सोसल मिडियामा फोटो राखेर बधाईको ओहिरो लागेको छ तर, अधिकांश नाम हेर्दा मलाई त लाज पो लागेर आयो ।

देशका हरेक क्षेत्र नैतिक संकटमा फसेको छ । अनुशासन, नैतिकता हराएको छ । यस्तो बेलामा तक्मामा कुनै सकारात्मक आशा राख्नु बेकारको कुरा हो । हिजो पंचायतकालमा, बहुदल आए पछि र गणतन्त्र आएपछि पनि वितरण गरिएका तक्मा र पाउने कहाँ छन् ? के गर्दैछन् ? त्यो तक्माले के ग¥यो ? जब तक्मा केबल फोस्रो हुन्छ तब नलिनु नै बेस हुन्छ । त्यसैले पाउनेभन्दा पनि नपाउनेलाई धेरै धेरै बधाई । सरकारले तक्माको इज्जत, मर्यादा, मान राख्न सकेन । यो बिकाउ र भनसुनमा आधारित भयो । यस्तो तक्मा वितरण खारेज गर्नुपर्छ ।

यो सामाग्री न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!