हिपमत डटकम

बिहिबार, आश्विन ०६, २०७९ || 9461  पटक पढिएको

दसैँ नजिकिएसँगै गाउँघरमा खसीबोका तथा अन्य जिन्सी चोरीका घटना बढ्दै गएका छन् । गाउँबाट चोरेर सहरी क्षेत्रमा ल्याएर बेच्ने गिरोह नै सक्रिय देखिएको छ । केही दिनअघि विराटनगरको हाइवे लाइनमा रहेको एउटा मोटरसाइकल ग्यारेजमा नयाँ पल्सर मोटरसाइकल सहित एक युवक आए । ग्यारेजवालाले ती युवकलाई ठाडै सोधे, ‘ओ भाइ, आज कतिवटा बेचियो ?, गाउँतिर खसी हराएर चौपट छ भन्छन्, तिमीलाई त मालामाल होला नि, होइन ?’

 

जवाफमा ती युवकले भने, ‘अलिअलि चल्दैछ, दसैँमा खसी भेटिन्छन् पनि बेचिन्छन् पनि ।’ ग्यारेजवालाका अनुसार मोटरसाइकलमा आएका ती व्यक्ति गाउँघरबाट खसी चोरेर ल्याएर विराटनगरमा बेच्ने गर्दछन् । ती व्यक्तिले दुई हजार रुपैयाँदेखि ५ हजार रूपैयाँमै खसी बेच्ने गरेको रातोपाटी समाचारदाता समक्ष नै स्वीकार गरे ।

दसैंको मुखमा १५ हजार, २० हजारमा पनि नपाउने खसी ५ हजारमा पाउँदा नकिन्ने को नै होलान् र ! पछिल्लो समय मोरङको काने पोखरीतिर खसी चोरीका घटना बढ्दै गएको स्थानीयवासी बताउँछन् । कानेपोखरी–५ का एक बासिन्दाले रातोपाटीसँग भने, ‘खसी चोरी भएर हैरान भयो, चोर पनि भेटिँदैन, प्रहरीले सक्रियता पनि देखाउँदैन ।’

सोही वडाका दिपक सुवेदीका अनुसार १५ दिनको बीचमा ४ वटा खसी चोरी भएको छ । कानेपोखरी–५ का ऋषि सुवेदीको घरबाट खसी चोरी भएको दुई दिनपछि सोही ठाउँका योगेन्द्र कार्कीको घरबाट २५ किलोको खसी पनि चोरी भयो ।

त्यही समयमा छत्रबहादुर खड्काको घरमै बाँधेको खसी पनि चोरी भयो । ‘चोरले खसीसँगै झर्के थाल, झर्के लोटा पनि लगेका छन्,’ सुवेदीले भने, ‘रातको समयमात्र नभएर दिउँसै पनि चोरी हुन थालेको छ ।’ सोही ठाउँका राजकुमार तामाङका अनुसार खेतमा काम गर्न गएको बेला साइकलको हेण्डिलको सहाराले ताला फोडेर कानेपोखरी–५ कै सूर्यकुमार श्रेष्ठको घरबाट ७ हजार नगदसहित चोरी भयो । तामाङले भने, ‘केही देख्नै नहुने भयो, खसी मात्रै होइन, सानातिना कुरा पनि चोरी भइरहेको छ ।’

चोरको बिगबिगी भएपछि स्थानीयले साँझदेखि बिहान ६ बजेसम्म गस्ती गरिरहेका छन् । ‘साह्रै दुःख भयो, साँझ परेदेखि बिहान ६ बजेसम्म गस्ती गर्न थालेका छौं,’ सुवेदीले भने, ‘प्रहरीलाई पनि जानकारी दिइएको छ, आफै गस्ती गर्नु भन्छन्, प्रमाण पाए, मान्छे देखे हुलिया बताउनु भन्छन् ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी निरीक्षक शान्तिराम कोइरालाले विराटनगरबाट एक जना खसी चोर पक्राउ परेको जानकारी दिए । ‘हामीले एउटालाई चाहिँ पक्रेर मुद्दा चलाइरहेका छौं,’ कोइरालाले भने, ‘जिल्लामा फाट्टफुट्ट खसी चोरी भएको विषयमा रिपोर्ट आइरहेको छ ।’ उनले कानेपोखरी लगायतका ठाउँमा खसी चोरको निगरानी गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!