मधेसमा दाइजोको कारण दिनदिनै हिँसात्मक घटना सार्वजनिक हुँदै आएको छ । दाइजोकै कारण कयौं महिलाले श्रीमान्, सासु र ससुराबाटै ज्यान गुमाउनु परेको छ । तर मधेसमा विस्तारै परिवर्तनको खबर पनि आउँन थालेको छ । यसको उदाहरण बनेका छन् लहान ७ का समाजसेवी सत्यनारायण पंजियार ।
विभिन्न संघसंस्थामा पदधिकारी तथा प्रमुख रहनु भएका पंजियारले आफ्नो एक्लो छोरा रमेन्द्र पंजियारलाई विना दहेज विवाह गर्ने तयारी गरेका छन् । सत्यनारायण पंजियारले भने ‘आदर्श मात्रै होइन्, दहेजमुक्त विवाह गर्दैछु । सम्धीसँग भनेको छु ‘तपाईको एउटा सुई पनि मलाई चाहिदैन ।’ ‘बुहारी चाहिएको छ । बुहारीको लागि समेत आफ्नैतर्फबाट सबै विवाह खर्च दिँदैछु ।’
फागुन १६ गते सत्यनारायण पंजियारका छोरा र धनुषाको धनुषाधाम ९ धारापानी निवासी मदन महासेठकी छोरी आरतीसँग दरबार होटलमा इन्गेजमेन्ट भएको छ । बिविएस गरेका रमेन्द्र (विवेक) र बिविएस पढ्दै गरेकी आरतीबीच फागुन २५ गते दहेजमुक्त विवाह हुँदैछन् ।
योसँगै विवाहमा १ सय २० बायोबृद्ध महिलालाई सत्यनारायण पंजियारले सम्धीकै गाउँमै साडी र फलफूल दिएर सम्मान गरिने तयारी गरेको छ । इन्गेजमेन्टको बेला बेहुली आरतीले म पनि दहेजमुक्त खोजेका थिए । त्यही अनुसार विवाहको तयारी हुँदा म खुशी छु । हाम्रो अभियानलाई सफल पारिदिने दिने मेरो हुने ससुरा र पतिलाई धन्यवाद छ ।