चैत ७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फूलमान वल निर्देशित डेब्यू चलचित्र ‘नीरफूल’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । रोजगारीको शिलशिलामा विदेश गएका श्रीमान् (दयाहाङ राई) नेपाल फर्केर भूकम्पपछि हराएकी श्रीमती (शान्ति वाइवा) र छोरी खोज्नका लागि गर्ने संघर्षलाई ट्रेलरमा मनछुने ढंगबाट देखाइएको छ । ‘नीरफूल’ दुई वर्ष अगाडि निर्माण भएको चलचित्र हो । पटक-पटक प्रदर्शन मिति घोषणा भएर पनि विभिन्न कारणले सर्दै आइरहेको यो चलचित्रमा दयाहाङ र शान्तिका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् ।चलचित्रको एक आइटम गीतमा अभिनेत्री रेखा थापाले अभिनय गरेकी छन् । चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वलले मिलेर लेखेका हुन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता दुबईकी सोनाम डोमा हुन् । निर्देशक फूलमानले चलचित्रमा धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्प बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए ।निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगरलगायत छन् । चलचित्रलाई प्रमोद कार्कीले खिचेका हुन् । अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन् । चलचित्रलाई गोविन्द शाही र मनोज राठीले वितरण गर्दैछन् ।