कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो ।
२०७४ सालमा निर्माण शुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ, भने पुलसँगै पहुँच मार्ग पनि निर्माण भइरहेको छ । पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन् । यसअघि पैदलयात्रु र दुईपांग्रे सवारीसाधनको आवागमन झण्डै डेढ किलोमिटर लामो झोलुंगे पुलबाट हुने गरे पनि चारपांग्रे सवारीसाधन भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो ।
महाकाली नदीमा पक्की पुल बनेपछि त्यो बाध्यता अन्त्य भएको छ । दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरिसिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेवल पुलले दोधारावासीलाई धेरै राहत मिलेको बताए । ‘हामीलाई सर–सामान ल्याउन धेरै समस्या हुन्थ्यो शारदा ब्यारेजमा भारतीयले ढोका नखोल्ने, घण्टाैँ कुर्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘सबैभन्दा ठूलो समस्या बिरामी अस्पताल लैजान हुन्थ्यो महेन्द्रनगर जान चारपांग्रे सवारी शारदा ब्यारेजबाट मात्रै सम्भव थियो ।’
दोधारा–चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको एक हजार चार सय ९५ मिटर लामो झोलुंगे पुलले पनि निकै राहत दिएको थियो । मानिसको आवतजावत र दुईपांग्रे सवारी साधनले महाकाली तर्न यही झोलुंगे बनेपछि मात्र सम्भव भएको थियो । ‘शारदा ब्यारेजमा भारतीय पक्षको एकाधिकार भएका कारण यो बाटो आवतजावत गर्दा धेरै दुःख झेल्नुपरेको थियो’, वडाध्यक्ष धनाडीले भने, ‘अहिले पुल बन्दा आफ्नै सवारीसाधन प्रयोग गरेर महेन्द्रनगर सदरमुकाम आउजाउ गर्न सहज भएको छ ।’
महाकाली पारीको गाउँ भनेर समेत चिनिने दोधारा चाँदनी नगरपालिकामा ५४ हजार बढी जनसंख्या छ ।
आठ सय मिटरको लम्बाइ र २३ दबमलव आठ मिटरको चौडाइ रहेको पुल निर्माणसँगै गड्डाचौकीसम्म जोड्ने छ किलोमिटर सडक कालोपत्र भइसकेको छ । दोधाराचाँदनी नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडक निर्माण अन्तिमा चरणमा रहेको छ । पुलसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नदीका दुवै किनार तर्फको ६००/६०० मिटरसम्म ठूलो पोखरीसमेत निर्माण हुने महाकाली पुल आयोजना कार्यालयले जनाएको छ । रासस