काठमाडौ। महोत्तरी बर्दिबासका किसानहरुले बिहीबार जनकपुरधामस्थित रेल्वे कार्यालयमा प्रदर्शन गरेका छन् ।
जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग गर्दै उनीहरुले रेल्वे कार्यालयमा प्रदर्शन गरेका हुन् ।
कार्यालय घेराउ गर्न गएका किसानहरुले नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझालाई मागपत्रसमेत बुझाएका छन् ।
यसअघि स्थानीय किसान र रेल्वे कम्पनीबीच जग्गाको मूल्यांकनसम्बन्धी सम्झौता भएको थियो । तर उक्त सम्झौतामा पुरानो खोल्सी कुलोदेखि पश्चिमको जग्गाको मूल्यांकन प्रतिकठ्ठा १५ लाख रुपैयाँको दर भए पनि प्रतिकठ्ठा १० लाख रुपैयाँको दरले मात्र भुक्तानी दिएको उनीहरुको भनाइ छ ।
रेल्वे कम्पनीले बर्दीबासमा रेल्वे स्टेसन तथा बन्दरगाह निर्माण गर्न स्थानीयसँग प्रतिकठ्ठा ८ लाखदेखि ८१ लाखसम्मको मूल्यांकन राखी ५४ बिघा जग्गा अधिग्रहण गरेको थियो ।
अधिग्रहण गरिएका जग्गाका धनीहरुले मालमोतमा सहीछाप गरिसकेको र जग्गा रेल्वे कम्पनीको नाममा कित्ताकाटसमेत भइसकेको छ ।
बर्दीवासमा अधिग्रहण गरिएका ५४ बिघामध्ये ५/७ बिघा जग्गाको मात्र मुआब्जामा विवाद छ । बाँकी जग्गाधनीहरुले समझौताअनुसार नै मुआब्जा पाएका छन् ।
यता नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझा २०७५ भदौ २ गतेको जग्गा मूल्यांकन समितिको निर्णयअनुसार नै मुआब्जा वितरण गरिएको बताउँछन् ।