काठमाडौं। सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर चार गते देशैभर एकै चरणमा गर्ने घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले मंसिर पहिला साता निर्वाचन गर्ने निर्णय गरेको हो । सत्तारूढ दल र निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गरेको हो ।
निर्वाचन आयोगले सरकारलाई मङ्सिर दुई गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । निर्वाचनको तयारी गर्न कम्तीमा एक सय २० दिन वा चार महिनाअघि मिति घोषणा गरिनुपर्ने निर्वाचन आयोगका पदाधिकारीले बताउँदै आएका थिए ।
तर आयोगलाई अब तयारीका लागि १ सय सात दिन मात्रै छ। २०७४ साल मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो ।
प्रतिनिधिसभा र प्रदेशसभाको पाँच वर्षे कार्यकाल सकिन लागेकाले नयाँ निर्वाचन हुन लागेको हो । निर्वाचनवाट प्रतिनिधिसभाका २ सय ७५ सदस्य र प्रदेश सभाका ५ सय ५० सदस्य चयन हुनेछन् ।
प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष र एक सय १० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् । प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३ सय ३० जना र समानुपातिकतर्फ २ सय २० जना निर्वाचित हुनेछन् ।